अरुको लाख आमाको काख,आमाको काख बाबाको कर्तब्य - MONGOL KHABAR

Breaking

अरुको लाख आमाको काख,आमाको काख बाबाको कर्तब्य

नवलपुर / अरुको लाख आमाको काख भने जस्तै अरु पनि आमा प्रती समर्पित धेरै भनाइ हरु छ्न् । धेरै गीतहरू छ्न् ,धेरै कविता छ्न लेख छ्न् र किताब छ्न् । हुन पनि संसारमा सबै कुरा पाइन्छ तर गुमे पछि आमाको जस्तो निस्वार्थ माया कहि कतै पाइदैन आमा शब्द आफैमा पुर्ण छ । यसलाई धेरै शब्दले बर्णन गर्नै पर्दैन ।

एउटा सन्तानलाई गर्भधारण गरेर हरेक अप्ठ्यारा असहज चुनौतीहरुलाई सामना गर्दै ९ मैना आफ्नो पेटमा बोकेर मृत्यु संग लडि लडि संसार देखाउने आमा तिमी महान छौं । मलाई पेटमा बोकेर घास दाउरा बोक्न जादा,बसेर अगेनामा आगो बाल्दा,जुठेल्ना भरिका भाडा माझ्दा तिमिले भोगेका ती पल म जन्मे पछि १० धारा आफ्नो हृदय चिरेर खुवाएको त्यो दूध जसलाई लेख्न म संग कुनै शब्द नै छैन ।


तिमिले मलाई जन्माएर काखमा बेर्दै दूध चुसाउदै मेरो मुखमा हेर्दै तोते आवाज निकाल्दै बोलेका शब्द र दृश्य अलि पर बाट टुलुटुलु हेर्ने मेरो बाबाको मनमा दिमागमा त्यति खेर के आएको थियो होला है आमा ? तिमिले गरेका सबै म प्रति का भोगाइ मेहनत प्रष्ट देखिन्थे तिमि संग सबै कुरा त बाबाले भने या भनेनन् तर म तिम्रो पेटमा आएको दिन देखिनै बाबाको पनि खुशी को सिमा थिएन होला गर्भले तिम्रो पेट फुल्दै जादा बाबाको पनि गर्वले छाती उत्तिकै चौडा हुँदै आएको थियोे होला ।

घरिघरि चिन्ता र पिर पनि उत्तिकै थियोे होला राम्रै सकुशल जन्मिए त हुन्थ्यो मेरि आइमाई ले पनि धेरै सास्ती भोग्न नपरे हुन्थ्यो । म जन्मे पछि मेरो अनुहार हेरेर जब तिम्ले ती सबै अप्ठ्यारा भुलेर खुशीले पुलंकित बन्यौ तब बाबा जिम्मेवारीको बोधले घोत्लिए होलान् । अब छोरा / छोरी जन्मियो राम्रो संग हुर्काउनु छ ,बढाउनु छ राम्रो स्कुलमा पढाउनु छ राम्रो मान्छे बनाउनु छ तर यी जिम्मेवारी र खुशी तिमिले जस्तै मलाई तोते बोल्दै सुमसुमाउदै भनेनन् बाबाले किन कि बाबालाई मायाले मात्रै पुग्दैन राम्रो सँग आफ्नो जिम्मेवारी पूरा गर्नु छ भन्ने थाहा रहेछ ।

तिमी सुत्केरी बसे देखी बाबाले मलाई दूध आफै तताएर ल्याए खाना आफै बनाए,घाँस दाउरा आफै बोके घर आफै पोते भाडा आफै माझे त्यो पनि त म प्रतिको माया हो आमा तर त्यो माया , माया देखिएन एउटा जिम्मेवारी पूरा गरेको सम्झियो देखियो । म अलि कति ठुलो भए साथिको जस्तो खेलौना खोज्दै रोए,साथिको जस्तै लुगा माग्दै रोए साथिले खेल्दा कुट्यो भनेर रुदै आए तिमिले अगालोमा बाधेर फकायौ मेरो गालामा चुम्बन दिएर फकायौ । बाबाले दिन भरि अरुको काम गरेर पनि मलाई साथिको जस्तै खेलौना किन्दिए,मलाई कुट्ने साथिलाई हप्काए,साथिको भन्दा राम्रो लुगा किन्दिए त्यो पनि त म प्रतिको माया थियोे आमा तर त्यो पनि एउटा बाबाको जिम्मेवारी भनियो ।

आज म धेरै बेर बुवालाई सम्झेर सोचिरहे आमा के मलाई बाबाले माया नै गरेनन् ? गर्दैनन्? उनका हरेक म प्रतिका क्रियाकलाप जिम्मेवारी पूरा गरेका भए आमा ? मलाई जान्न मन लाग्यो आमा एउटा बाबाले आफ्नो छोराछोरी प्रती के चाहिँ गर्यो भने त्यो माया भनिन्छ होला ?

लेखक / तिलक रामदाम
नवलपुर / गैंडाकोट शुभ टोल