गोरु काटेको आरोपमा पक्राउ पश्चात् रिहा हुनेलाई धरानमा सम्मान - MONGOL KHABAR

Breaking

गोरु काटेको आरोपमा पक्राउ पश्चात् रिहा हुनेलाई धरानमा सम्मान

जगत ठाडा मंगोल
सुनसरी ४ बुधबार पुस । धरानको मंगलबारे चौकमा गोरु काटेको अभियोगमा पक्राउ गरिएका १० जनालाई रिहा गरेको खुशियालीमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन लगायत अन्य संगठनले खुल्ला कार्यक्रम गरि रिहा भएर आउने साथिहरुलाई आज सम्मान गरेको छ ।


कार्यक्रममा अर्गनाइजेशनका केन्द्रिय कोषध्क्ष दिनेश बान्तवा र मंगोल बिद्यार्थी युनियन केन्द्रीय संयोजक अडिल खम्बु लगायत अर्गनाइजेशनका नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्मान गरेको थियो ।


गोरु काटेको अभियोगमा पक्राउ गरिएका १० जनालाई प्रहरीले मंगलबार रिहा गरेको थियो । गत मंसिर २८ गते धरान १७ बाट गोरु काटिरहेको भेटे पछि प्रहरीले पाँच जना मुस्लिम र पाँच जना नेवार समुदायका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो । तर मुलुक धर्मनिरपेक्ष राज्य भए पनि गोरु काटे कै अभियोगमा उनीहरुलाई पक्राउ गरिएको भन्दै मुलबासी मंगोल समुदायहरुले प्रहरी र सरकारको उक्त कदमको कडा विरोध जनाएका थिए ।

दश जना पक्राउ परेको भोलि पल्टै (मंसिर २९ गते) मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठन र संगठनका भातृसंगठन लगायत अन्य संगठनले बिरोध स्वरुप विज्ञप्ती जारी गरि तत्काल रिहा नगरे आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।

त्यसै गरि विभिन्न संगठनले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । संविधानको मर्म र भावना विपरीत गोरु काटेको अभियोगमा नागरिकलाई पक्राउ गर्न नहुने भन्दै प्रहरी प्रति मंगोल समुदायका जनताले आलोचना गरिएको थियो ।