ट्रेलरले झुक्याएको प्रसाद फिल्म - MONGOL KHABAR

Breaking

ट्रेलरले झुक्याएको प्रसाद फिल्म

ट्रेलर, झुक्याउन सक्ने क्षमता भएको फिल्मको एउटा असल पाटो हो । फिल्मको रिभ्यु हेरेर मात्रै फिल्म हेर्न जानेहरू केही हदसम्म पैसा बचाउन सफल छन् ।
रिभ्यु कसले र कुन शैलीमा गरेको छ भन्ने पनि याद गर्नुपर्ने हुन्छ । रिभ्यु हेरेरै झुक्किएका उदाहरण प्रशस्तै छन् । त्योमध्ये एक हो– प्रसाद ।
नेपाली बजारमा विदेशी फिल्मको दादागिरी रहेको समयमा केही मौलिक नेपाली फिल्मले यो क्षेत्रलाई धानेकै हो । ओभरसी भरमा भए पनि केही चलचित्र लगानी उठाउन सफल छन् । विदेशमा रहेका नेपालीमा रहेको देशको मायाको कारण केही फिल्मको लगानी सुरक्षित हुने गरेको प्रष्टै छ ।
हुन त, म फिल्मी क्षेत्रबारे पोख्त व्यक्ति होइन र समीक्षा गर्ने हैसियत पनि राख्दिनँ । तर साधारण दर्शकको हैसियतले मलाई खड्किएका केही विषयमा भने नलेखी बस्न सकिनँ ।
कला र संस्कृतिको धनी हाम्रो देश प्राकृतिक सौन्दर्यका हिसाबले त विश्वमै एक मानिन्छ । तर हामीले निर्माण गरेका फिल्मले अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रति मोह बढाउन सहयोग गर्छ त ? प्रश्न प्रश्नमै सीमित छ । केही औँलामा गन्न सकिने फिल्मले बाहेक अन्यले नेपालको मौलिकता समेट्न नसकेकै हो ।
फिल्म हेरिसकेपछि त्यसबाट केही सन्देश मिल्नु पर्छ भन्ने मेरो सोचाइ हो । फिल्मबाट सन्देश, सूचना, मनोरञ्जन पाउने अपेक्षासहित हलभित्र छिर्ने हो । तर फिल्मले नकारात्मक सन्देश दियो र समाजमा राम्रो छाप छाड्न सकेन भने हामीले फिल्म किन हेर्ने ?
यस्तै अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ हेरेपछि मलाई भयो । प्रसाद ग्रहण गर्न गएकी मलाई ‘प्रसाद’को वास्तविक अर्थले निकै विचलित गरायो । 
हाम्रो देश अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा  फिल्मले दिन खोजेको सन्देशबाट के पाठ सिक्ने ? बलात्कारीले उन्मुक्ति पाएर अन्य जघन्य अपराध गर्न अग्रसर भएका घटना समाजले झेलिरहेको अवस्थामा उक्त फिल्मले दिन खोजेको सन्देशलाई दर्शकले सजिलै पचाउन नसक्ने अवस्था छ । यो प्रसाद ग्रहण गर्नु भनेको बलात्कार लगायतका जघन्य अपराधलाई पनि ग्रहण गर्नु जस्तो लाग्यो ।
कथा लेखक, निर्माता, निर्देशक अनि कलाकार सबैलाई मेरो प्रश्न– ‘के बलात्कार जस्तो जघन्य अपराधमा महिला निरिह बन्नुपर्ने हो बच्चाको लागि ? बलात्कार भनेको के हो ? यस्तो विषयलाई फिल्ममार्फत निरुत्साहित गर्ने प्रयास किन गरिएन ? किन हरेक चलचित्रमा महिला पात्रलाई यति निरिह र हिंसा सहन बाध्य बनाइएको छ ?
लामो समयदेखि रङ्गपत्रकारिता गरिरहेका लेखक सुशील पौडेलले देशको अवस्थालाई ध्यानमा राखेर पनि कथालाई केही परिमार्जन गर्न सक्नुपर्ने हो । तर त्यतातिर किन उनको ध्यान जान सकेन । 
सामान्य अवस्थाबाट बगेको फिल्म मध्य भागसम्म केही सुस्त छ । तर पनि पात्रहरूको सङ्घर्षले मध्यान्तरपछि फिल्म प्रेरणादायी अवस्थाबाट अगाडि बढ्छ भन्ने आशा आम दर्शकको जस्तै मेरो पनि थियो । तर आशा निरासामा बदलियो ।
कलाकारको अभिनय आँखा नबिझाउने छ । बाबुराम (विपिन कार्की) नारायणी (नम्रता श्रेष्ठ) अनि रमेश (निश्चल बस्नेत)को अभिनय प्रशंसा योग्य रहे पनि कथाले त्यो कलाकारितालाई कमजोर बनाइदिएको छ । 
जातीय विभेद तोडेर घर, परिवार अनि समाजलाई नै छाडेर सङ्घर्ष गरिरहेका एक निसन्तान क्रान्तिकारी जोडीको कथा ‘प्रसाद’को विषय हो । तर सन्तान प्राप्तिका लागि बलात्कार जस्तो जघन्य अपराधलाई पनि फिल्मले सही बनाइदिएको छ । 
कथामा डाक्टरले श्रीमान् (बाबुराम)लाई तिमीबाट बच्चा हुन सक्दैन यो कुरा श्रीमतीलाई नभन्नु भनियो र बाबुरामले पनि उसै गरे । टेस्ट ट्युब बेबीका लागि उनले खुबै सङ्घर्ष गरि नै रहे तर जब उनकी श्रीमतीलाई आफ्नै साथी रमेशको बलात्कारबाट गर्भ रह्यो । तब उक्त घटनालाई हिंसा र अपराधको ठाउँमा राखेर कारवाहीको प्रक्रियामा जानुको साटो उक्त गर्भलाई प्रसादको रूपमा ग्रहण गरियो ।
नारायणीलाई रमेशले जबरजस्ती बलात्कार गरेको भए पनि नारायणी कसैले थाहा नपाउन् भनेर सामान्य बनिदिनु अनि रमेश र बाबुरामले बच्चा फाल्न दिएको यातनालाई नारायणीले सहनुलाई कसरी लिने ?
फिल्ममा उपल्लो र तल्लो जात भनेर पात्रलाई प्रस्तुत गरिरहँदा जातभातको सतहलाई पार गरेर आएकी एक पढेलेखेकी केटी एकाएक त्यस्तो हिंसालाई कसरी सहज रूपमा स्वीकारेर बस्न सक्छे ? कथाले महिला पात्रलाई अन्याय गरेको छ ।
नरायणी (नम्रता) जसले समाजको अगुवा महिला बनेर हिंसापीडितको पक्षमा आवाज उठाउनु पर्नेमा यो कथालाई सहर्ष स्वीकार गरेको देख्दा भने आश्चर्य लागेको छ ।
डाक्टरले आफ्नो श्रीमानबाट बच्चा हुन सक्दैन भन्नेबारे अनभिज्ञ पात्रले उक्त बलात्कारबाट गर्भ रहँदा श्रीमानबारे थाहा पाएर नै बच्चालाई जन्म दिन तयार भएको पो हो कि भन्ने भान हुन्छ ।
एक महिलाका लागि आफ्नो गर्भमा रहेको बच्चा फाल्न सक्ने सजिलो विषय होइन । यो फिल्मले पनि उठाएको छ ।
एक पढेलेखेकी महिला किन त्यसरी हिंसा सहेर बसेकी छे त ? प्रश्न फिल्म निर्माण पक्षलाई जान्छ । अनि अपराध गरेर पनि बारम्बार त्यही पेरिफेरीमा रमाउने रमेशमा अलिकति पनि डर धकस नदेखिनुले अपराधीलाई ऊर्जा मिलेको जस्तो लाग्छ ।
अपराधीलाई अपराध बोध नगराई, न्याय कठघरमा नल्याई अपराधीलाई नष्ट गराउनु लेखकको सबैभन्दा कमजोर पक्ष हो । पाँचौँ फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले पनि यो कुरामा खासै ध्यान दिएको देखिँदैन । यसले उनको निर्देशकीय क्षमतामा पनि प्रश्न उठ्न सक्छ । 
हुन त नौं महिना गर्भमा राखेर जन्माएको सन्तानभन्दा ठूलोप्रसाद त यो दुनियाँमा अरू केही पनि हुन सक्दैन । तर कथामा हिंसालाई प्रस्रय दिएर सन्तान प्राप्तीलाई स्थान दिइयो । यो समाजका लागि अपच्य विषय हो ।
कथाको सुरुबाट नै खलनायकको भूमिकामा देखिएका रमेश (निश्चल बस्नेत)को अभिनय मध्यम खालको छ । कथामा आपराधिक मानसिकता भएको रमेशले केटीहरूलाई आफ्नो खेलौना बनाइरहेको दृश्य पटक पटक देखाइन्छ । आफ्नै गाउँछिमेककी बहिनी भनेर सम्बोधन गर्ने साथीकी श्रीमतीलाई बलात्कार गर्नु उसको पुरुषत्व जस्तो देखिन्छ । 
टेस्टट्युब बेबी आफ्नो मान्ने र बलात्कारबाट भएको सन्तान किन आफ्नो नहुने भन्ने प्रशसङ्ग मन्दिरमा चढाएको प्रसादसँग तुलना गर्न खोजिएको छ । यो कति सादर्भिक छ लेखक नै जानुन् ! 
केही पहिले फिल्म हेर्दा 
यहाँ मलाई केही समय पहिलेको एक फिल्मको प्रसङ्ग पनि यहाँ जोड्न मन लाग्यो । म परिवार सहित ‘दर्पण छायाँ–२’ फिल्म हेर्न पुगेको थिए । पहिलो सिक्वेल हेरेकी मलाई यसले यतिसम्म निरास बनायो कि लामो समयसम्म फिल्मका लागि समय र पैसा खर्चने आट गर्न सकिनँ । 
निर्देशक कलाकार तुलसी घिमिरे, जसको कलाकारिताको मैले टिप्पणी गर्न सुहाउँदैन र सक्दिनँ पनि । तर पात्र र प्रात्रको प्रस्तुतिले उक्त फिल्म दुई दिन चल्नु पनि ठूलो कुरा जस्तो लागेको थियो । 
फिल्म सुरु भएको केही समयपछिबाट कुमारी हलको प्यासेजमा छोरीको नाच हेरेर नै म फर्किएँ । उक्त समय हलमा फिल्मका कलाकार गायक गायिकाहरू पनि उपस्थित थिए । हलभित्र उनीहरूको उत्साहित होहल्लाले कलाकारभित्रको अपरिपक्वता त्यहीँ देखियो ।
त्यो दिन, अब म फिल्म नै हेर्दिनँ भन्दै निस्किएँ पनि तर केही फिल्मले फेरि मन तान्यो र हेरियो ।
‘प्रसाद’ फिल्ममा कलाकारहरूको अभिनय तारिफयोग्य भए पनि थोरै पात्रमा सीमित अनि दोहोरिने संवाद र दृश्यले निर्देशक भेराइटिज दिनबाट चुकेको जस्तो लाग्छ । अनि नायिकाले लगाएको विग (नक्कली कपाल) अप्राकृतिक देखिन्छ । तर फिल्ममा नेपाल आइडलका प्रतियोगी विक्रम बरालको आवाजमा रहेको ‘बरै’ भन्ने गीत अनि यसको दृश्यमा मात्र दर्शकलाई भावुक बनाउँछ । 
जातीयताको विषयमा यदि फिल्म बन्छ भने तल्लो र माथिल्लो जात भनेर प्राथमिकता दिनुभन्दा पनि सबै जात एकै हुन् र समाजमा मिलेर बस्न अनि नाता सम्बन्ध गाँस्न सक्छन् भन्ने सन्देशमा  फिल्म निर्माण हुनुपर्ने अपेक्षा अहिलेका पुस्ताको हो ।
अनि, पुरुष पात्रलाई जस्तो रूपमा पनि स्ट्रङ देखाइनु अनि महिला पात्र सधैँ निरिह देखिनुपर्ने कथाको पनि अन्त्य होस् । समाजलाई पच्य अनि समाजले केही सन्देश पाउने कथा वस्तुमा फिल्म बनोस् मेरो शुभकामना ।