सर्लाहीमा बोर्डिङ्ग स्कुल सञ्चालकको विभत्स हत्या - MONGOL KHABAR

Breaking

सर्लाहीमा बोर्डिङ्ग स्कुल सञ्चालकको विभत्स हत्या

सर्लाही– जिल्लास्थित एक निजी विद्यालय सञ्चालकको विभत्स हत्या भएको छ । ढुंग्रेखोलाको जिरायत स्थित सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक एवं सोही विद्यालयका शिक्षक मालिक महतोको शुक्रबार राती हत्या भएको हो ।

बरहथवा नगरपालिका–५ निवासी विलास महतोका छोरा ३० वर्षीय महतोको धारिलो हतियारले टाउको क्षतविक्षत बनाएको अवस्थामा घर बाट केही पर सोतिखोला किनार छेउ एकान्त स्थानमा शव फेला परेको हो । नयाँ रोड बरहथवा सडक खण्डबाट हात्तीडण्डा तर्फ जाने भित्री बाटोमा टाउको क्षतविक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको थियो ।

शनिबार बिहान ४ बजे शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ कसैले फोन गरेर बोलाए पछि पाकि सकेको खाना समेत नखाई महतो बाहिरिएको परिवारजनले बताएका छन् । पारिवारिक स्रोतका अनुसार राती ९ बजेतिर घर बाट फोन गर्दा ‘खाना पस्कदै गर्नु म आउँदै छु’ भन्ने जवाफ दिएका महतो रातभरी सम्पर्क विहिन भएका थिए ।


हत्यामा संलग्नहरुको पहिचान एवं खोजी कार्य सहित घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । प्रहरीले हेटौंडाबाट तालिम प्राप्त कुकुर ल्याएर समेत अनुसन्धान अगाडि बढाएको छ । ‘घटनामा संलग्नहरुको पहिचान नजिक नजिक पुगिसकेका छौं’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘फोन कल डिटेल सहित अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ, एक दुई दिनभित्रै परिणाम आउनेमा ढुक्क छौं ।

घटनाबारे २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट अपराध अनुसन्धान विज्ञ सुरक्षा अधिकृतको टोली समेत खटिएको छ । हत्यामा संलग्न पक्राउ नपरेसम्म शव उठाउन नदिने भन्दै केही आफन्तले आक्रोश व्यक्त गरेका कारण शनिबार दिउँसोसम्म शव घटनास्थलमै रहेको थियो । प्रहरी उपरीक्षक पोखरेलले निश्पक्ष ढंगले अनुसन्धान गरी हत्यारा चाँडै पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा लगिएको छ ।

मृतक महतोका श्रीमतीसहित ८ र ४ वर्षका २ छोरा रहेका छन् । एक्लो छोराको हत्याले मृतकका बुबा आमा, श्रीमतीसहित आफन्त भावविव्हल बनेका छन् ।