काठमाडौ / महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भनी विभिन्न व्यक्ति सँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई आज बालाजु बाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै रु सात लाख ठगी गरेको पोखरेलले जानकारी दिनुभयो ।
बोहराले दैलेख घर भएका राधा शाही सँग रु एक लाख ४५ हजार, सिन्धुपाल्चोकका रेणुका भण्डारी सँग रु ५० हजार, विमला खड्का सँग रु १५ हजार, जुनाकुमारी खड्का सँग रु १२ हजार, मीना सुनुवार सँग रु १९ हजार ठगेकी छन् । यस्तै,अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।