तनहुँ दमौली सत्यवती स्कुलको शान - MONGOL KHABAR

Breaking

तनहुँ दमौली सत्यवती स्कुलको शान

दमौली पुस ७, देशभरका सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण घट्दो छ । बालबालिका मात्रै होइन शैक्षिकस्तर खस्किनु र राजनीति गतिविधि बढ्दै गएपछि अभिभावकहरूले पनि छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन खोज्दैनन् । तर, तनहुँको सत्यवती माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप निरन्तर बढ्दै गएको छ । सत्यवतीमा आफ्ना छोराछोरीलाई पढाउन अभिभावक पनि अनेक कोसिस गर्छन् । 
बालबालिकाको चाप बर्सेनि बढेपछि विद्यालयले भर्नाका लागि प्रवेश (इन्ट्रान्स) परीक्षा लिने गरेको छ । विद्यालयको शैक्षिक वातावरण र शैक्षिकस्तर राम्रो भएकाले सो विद्यालयप्रति बालबालिका आकर्षित भएका हुन् । विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलका अनुसार सबै विद्यार्थीलाई भर्ना गर्ने हो भने चौरमा राखेर पनि पढाउन सकिँदैन । ‘अन्य सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षणभन्दा विकर्षण बढिरहेका वेला हाम्रोमा विद्यार्थी थेगिनसक्नु हुन्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर राम्रो भएकाले नै विश्वास गरेका होलान् ।’


देशभरका प्राय सामुदायिक विद्यालयका शिक्षक नै आफ्ना छोराछोरीलाई निजी स्कुलमा राखेर पढाउन जाने क्रम बढिरहेका वेला सो विद्यालयले भने नमुना र उदाहरणीय काम गरिरहेको छ । यहाँ पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई अन्य स्कुलमा नपठाउने मात्र होइन अभिभावकलाई समेत सामुदायिक विद्यालयमै छोराछोरी राख्न प्रोत्साहन गर्छन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले दुई छोराहरूलाई पनि सो विद्यालयमा पढाइरहेको बताए । ‘सामुदायिक विद्यालयका शिक्षकले छोराछोरीलाई अन्यत्र महँगा स्कुलमा पढाउने गुनासो बढिरहेका वेला यस विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना छोराछोरीलाई यहीँ पढाएर उदाहरणीय काम गरेका छौँ,’ उनले भने । 
शिक्षकका छोराछोरी मात्रै १९८
सो विद्यालयमा पढाउने शिक्षकका छोराछोरी मात्र एक सय ९८ जना छन् । प्राविधिक, कम्प्युटर इन्जिनियर, विज्ञान, शिक्षा तथा व्यवस्थापनको पढाइ हुने सो विद्यालयमा १२ कक्षासम्म पढाइ हुने गरेको छ । विद्यालयले शिक्षाको गुणस्तरमा मात्र नभई अन्य क्षेत्रमा समेत सधैँ प्रथम स्थान हासिल गर्दै आइरहेको प्रधानाध्यापक पौडेलले बताए ।
विद्यालयले एसएलसी परीक्षामा चारपटक (०५७, ०६६, ०६७ र ०७०) मा पश्चिमाञ्चल टप गरेको थियो । उत्कृष्ट भएसँगै प्रत्येकपटक एकएक लाख रुपैयाँ नगदसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाइसकेको छ । 
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले यस्तै प्रशंसनीय कार्यहरूले गर्दा विद्यालयको मात्र नभै जिल्लाकै शिर माथि उठेको बताए । ‘अन्य विद्यालयले पनि यस विद्यालयकै जस्तो सिको गर्नु आवश्यक छ,’ उनले भने । सरकारले यस विद्यालयलाई ०७४ सालमा नमुना घोषणा गरिसकेको छ जसले गर्दा नेपालकै नमुना विद्यालयका रूपमा स्थापित भएको छ । विद्यालयमा हाल २ हजार ७ सय ३३ बालबालिका अध्ययनरत छन् । त्यस विद्यालयमा ९७ शिक्षक कार्यरत छन् ।