तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै म्यासेज पठाएर ठग्ने गिरोह भैरहवा बाट पक्राउ - MONGOL KHABAR

Breaking

तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै म्यासेज पठाएर ठग्ने गिरोह भैरहवा बाट पक्राउ

बुटवल / पुस ४ , सामाजिक सञ्जालमा ‘तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै सन्देश पठाउँदै पैसा असुल्ने गिरोह प्रहरीको फन्दामा परेको छ । अरुलाई जालमा पारेर चिठ्ठा वापत सरकारलाई कर तिर्नु पर्ने भन्दै रकम असुल्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथ बाट नक्कली नागरिकता समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बुटवलका एक जनालाई २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको छ भन्दै त्यसको आयकर वापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर नगरपालिका १, बेलहिया नाका बाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर–१ बस्ने २१ वर्षका अब्दुल पठान, रोहिणी गाउँपालिका–१ बस्ने २० बर्षका सम्मुदिन जोलाहा र भारत महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षका ‘मुन्ना’ भनिने मोहम्मदन हसन रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।