दाङ तनावग्रस्त, अश्रुग्यास हानेर शव उठाइयो - MONGOL KHABAR

Breaking

दाङ तनावग्रस्त, अश्रुग्यास हानेर शव उठाइयो

दाङ / पुस ९,दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भए पछि स्थिति तनावग्रस्त बनेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको हो ।


घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा पुनमगरको मृत्यु भएको हो । स्कुटरको पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसले स्कुटरलाई ठक्कर दिएर पुुनमगरको मृत्यु भए पछि पीडित र स्थानीयहरुले बस चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै बस तोडफोड सहित शव समेत उठाउन दिएका थिएनन् । प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको छ । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ठक्कर दिने बसका चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।