क्रिसमस डे का दिन चितवनमा जल्यो बाइबल, धर्म परिवर्तन बन्द गर्न माग - MONGOL KHABAR

Breaking

क्रिसमस डे का दिन चितवनमा जल्यो बाइबल, धर्म परिवर्तन बन्द गर्न माग

चितवन, पुस १० / चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै आज क्रिसमसको दिनमा बाइबल जलाएका छन् ।



हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएका हुन् । उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्दै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए ।


हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले नेपालमा क्रिश्चियनहरुले जबरजस्ती धर्म परिवर्तन गरिरहेकोले त्यसको विरोधमा क्रिसमसको दिनमा कार्यक्रम गरिएको नारायणी अनलाइनलाई बताए । उनले धर्म परिवर्तन रोक्न माग गर्दै नेपालमा बाइबलको आवश्यकता छैन भनेर भरतपुरको चौबिसकोठीमा बाइबल जलाउन बाध्य भएको जानकारी दिए । कोणसभालाई हिन्दू जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेले सम्बोधन गरेका थिए ।