कम्युनिष्ठ ‘साइकल मन्त्री’को वास्तविकता, मासिक दुई सय लिटर इन्धन, तलबभत्ता २ लाख ३२ हजार - MONGOL KHABAR

Breaking

कम्युनिष्ठ ‘साइकल मन्त्री’को वास्तविकता, मासिक दुई सय लिटर इन्धन, तलबभत्ता २ लाख ३२ हजार

काठमाडौं, ५ पुस । एक वर्ष अघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला लालबाबु पण्डित भन्थे, ‘म गरिब छु, चुनावी खर्च छैन ।’ उनी आफूलाई ‘गरिब’ नेता भन्न रुचाउँछन् । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री भएकै बेला साइकल चढे । त्यसैले धेरै मानिस उनलाई ‘साइकल मन्त्री’ भन्छन् ।

यस्तै यस्तै फन्डा गरेर उनले संघीय सांसदका लागि मोरङ–६ बाट उम्मेदवार बने र कांग्रेसका हेभिवेट उम्मेदवार डा.शेखर कोइरालालाई हराए । नेता पण्डितलाई गरिब नै भन्ठानेर देश विदेशबाट एक एक रुपैयाँ सहयोग भयो । केहीले विदेशबाट चुनाव खर्च पनि पठाए । चुनाव जिते पछि उनी केपी ओली सरकारमा मन्त्री बने ।


मन्त्री बनेको चार महिना पछि सम्पत्ति विवरण सार्वजनिक गरे । सम्पत्ति विवरणमा उनीसँग बैंक खातामा ५५ लाख रुपैयाँ देखियो । त्यसपछि मात्र उनी ढाेंगी नेता भएको भन्दै विवादमा परे । पण्डितको चल सम्पत्ति मात्र ६१ लाख भन्दा बढी देखिएको छ ।

जारी सम्पत्ति विवरण अनुसार पण्डितको हालको सम्पत्ति मध्ये एभरेस्ट बैंकमा २५ लाख, कृषि विकास बैंकमा ३० लाख र १० तोला सुन अर्थात् झण्डै ६ लाखको सुन र १५ तोला चाँदी रहेको छ । यसको स्रोतको रुपमा उनले पैत्रिक, स्वआर्जन र वचत भनेका छन् ।

जबकि गत कात्तिकमा आफू सँग चुनाव लड्ने पैसा समेत नभएको भन्दै उनले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका थिए, त्यतिबेलाको कथा र अहिलेको तथ्यमा व्यापक परिवर्तन भएको छ । यिनै मन्त्री पण्डित अहिले दोहोरो सुविधा लिइरहेका छन् ।

उनले मासिक दुई सय लिटर इन्धन सुविधा लिन्छन् । तलब भत्ता, सचिवालय सुविधा भन्दै दुई लाख ३२ हजार ८३० रुपैयाँ बुझ्छन् । सचिवालयमा सात जना कर्मचारी भर्ना गरेका छन् । कुनै बेला आफूलाई गरिब भन्न रुचाउने पण्डित मन्त्री भएको वर्ष दिन नबित्दै अहिले करोडपति भइसकेका छन् । हिजो सम्म ‘साइकल मन्त्री’ को परिचय बनाएका पण्डितको स्टाटस फेरिएर ‘करोडपति’ मन्त्री भएको छ ।