गोरु काटेको अभियोगमा पक्राउ परेका १० जनालाई मंगोल समाजको दबाब पछि रिहा - MONGOL KHABAR

Breaking

गोरु काटेको अभियोगमा पक्राउ परेका १० जनालाई मंगोल समाजको दबाब पछि रिहा

जगत ठाडा मंगोल
धरान / ३ पुस, गोरु काटेको अभियोगमा पक्राउ गरिएका १० जनालाई प्रहरीले मंगलबार रिहा गरेको छ । गत मंसिर २८ गते धरान १७ बाट गोरु काटिरहेको भेटेपछि प्रहरीले पाँच जना मुस्लिम र पाँच जना नेवार समुदायका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।


प्रहरीले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो । तर मुलुक धर्मनिरपेक्ष राज्य भए पनि गोरु काटे कै अभियोगमा उनीहरुलाई पक्राउ गरिएको भन्दै मुलबासी मंगोल समुदायहरुले प्रहरी र सरकारको उक्त कदमको कडा विरोध जनाएका थिए ।

दश जना पक्राउ परेको भोलि पल्टै (मंसिर २९ गते) मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठन र संगठनका भातृसंगठन , सांस्कृतिक अधिकार संरक्षण समितिले तत्काल रिहा नगरे आन्दोलन थाल्ने चेतावनी दिदै विज्ञप्ती जारी गरेको थियो ।

समितिले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धरानमा भेटेका बेला ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि उक्त घटनाको विरोध गर्दै धरानमा नाराजुलुस गरेको थियो ।

संविधानको मर्म र भावनाविपरीत गोरु काटेको अभियोगमा नागरिकलाई पक्राउ गर्न नहुने भन्दै प्रहरी प्रति आलोचना गरिएको थियो ।