नवलपुरको बुलिङ्गटार गाउँपालिकामा सवा ६ करोडको लागतमा खानेपानी आयोजना - MONGOL KHABAR

Breaking

नवलपुरको बुलिङ्गटार गाउँपालिकामा सवा ६ करोडको लागतमा खानेपानी आयोजना

रुमबहादुर बिर्ता मगर
नवलपुर / पुस, पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा सवा ६ करोडको लागतमा खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ। पिउने पानी लिन गाउँ देखि तल कुवा, मुलमा एक देखि डेढ घण्टा हिड्न पर्ने यहाँका बासिन्दाको समस्यालाई ध्यानमा राखेको बुलिङ्गटार गाउँपालिकाले सम्पूर्ण वडाहरुमा एकसाथ खानेपानी आयोजना सञ्चालनमा ल्याउन लागेको हो ।

बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार बुलिङ्गटारमा ९ वटा सानाठूला खानेपानी आयोजना एकसाथ निर्माण गर्न थालिएको हो । जस मध्ये ८ वटा को टेण्डर भई सकेको छ ,भने एउटा टेण्डर प्रक्रियामा रहेको छ। डेढ बर्ष भित्र सक्ने गरी आयोजना निर्माण कार्य थालिएको उनले बताए । बुलिङ्गटार गाउँपालिकाले आफ्नो बजेटको ठूलो हिस्सा यसैमा लगानी गरेको छ।

अध्यक्ष बस्ताकोटीले भने – ‘यहाँका बासिन्दा पिउने पानी लिनका लागि घण्टौं सम्म धाउनु पर्ने बाध्यता रहेकोले यहाँ को सबै भन्दा ठूलो समस्या हल गर्नका लागि एक साथ खानेपानी आयोजना सञ्चालन गर्न थालिएको हो ।’


बुलिङ्गटारको भारतीपुरमा ४ वटा, जौवारीमा २ वटा, अर्खलामा एउटा, बुलिङ्गटारमा एउटा र कोठथरमा एउटा गरी एक साथ ९ वटा खानेपानी आयोजना निर्माण गर्न थालिको हो । गाउँपालिका भित्रै रहेका पानीका मुहानहरुलाई प्रयोग गर्ने गरी आयोजना निर्माण शुरु गर्न थालिएको अध्यक्ष बास्ताकोटीले बताए ।

यस अघि विभिन्न संघसंस्थाहरुले ससाना खानेपानी आयोजना सञ्चालनमा ल्याए पनि त्यो दीर्घकालीन हुन नसकेको कारण आफूले दीर्घकालीन रुपमा पिउने पानी उपलब्ध गराउने गरी योजना अगाडि लगेको उनले बताए ।
बुलिङ्गटार गाउँपालिकाले ‘एक घर एक धारा’ पुर्याउने र न्यूनतम् शुल्कमा पानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

अध्यक्षका अनुसार खानेपानी आयोजना निर्माणका लागि बुलिङ्गटार गाउँपालिकाले ६ करोड २० लाख खर्च हुने अनुमानका साथ बजेट विनियोजन गरेको छ ।
९ वटा सानाठूला खानेपानी आयोजना निर्माण सम्पन्न भएर घरघरमा पिउने पानीको धारा पुगे पछि यहाँका बासिन्दाहरुलाई पिउने पानी लिन डेढ घण्टा सम्म धाउनु पर्ने बाध्यताको अन्त्य हुने बास्ताकोटीले बताए ।