राष्ट्रिय झण्डा बदल्न र संविधान पुनर्लेखन गर्न माग गर्दै धरानमा मंगोलको नाराबाजी - MONGOL KHABAR

Breaking

राष्ट्रिय झण्डा बदल्न र संविधान पुनर्लेखन गर्न माग गर्दै धरानमा मंगोलको नाराबाजी

धरान । राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन हुनुपर्ने माग गर्दै धरानमा नाराबाजी गरिएको छ । ३० औं मंगोल दर्शन स्थापना दिवसको अवसरमा धरानमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले नेपालको राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै र्याली निकालेको हो ।


३० वर्ष अगाडी मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक डा.गोपाल गुरुङले जेलमा हुँदा नै मंगोल समुदायलाई राजनीतिक चेतनशिल बनाउदै मंगोल राष्ट्रवाद दर्शन सार्वजनिक गरेको दिन जनवरी फस्टमा मंगोल दर्शन दिवसको रुपमा मनाउदै आएको छ ।

मंगलबार धरानमा पनि अर्गनाइजेशनले र्याली निकालि बजार परिक्रमा गर्दै नेपालको संविधानलाई षडयन्त्रकारी संविधान भन्दै पुनर्लेखनको माग गरेको छ । त्यस्तै गरी नेपालको राष्ट्रिय झण्डालाई समेत अराष्ट्रिय भन्दै बदलीको माग गरेको छ । र्यालीले ‘आदिवासी÷जनजाती–ठग जमात हो’, ‘पूर्ण धर्मनिरपेक्षता–लागु गर’, ‘संविधानमा मूलबासी मंगोल लेख’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित धरान बजार परिक्रमा गरेको थियो ।

र्याली धरानको भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई एमएनओ–डा. गोपाल गुरुङ संगठनका इटहरी नगर अध्यक्ष अमृत मगर, धरान नगर अध्यक्ष लोकबहादुर राई र केन्द्रीय सदस्य शक्ति चाम्लिङले सम्बोधन गरेका थिए ।