रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु - MONGOL KHABAR

Breaking

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

बुटवल / पौष २९, रुपन्देही सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाही स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाए पछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको थापाले जनाए । प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि एसपी थापाले जानकारी दिए ।

मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।