जति मिल्ने साथि भए पनि यस्तो कुरा कहिले नगर्नु, पछुटाउनु पर्ला - MONGOL KHABAR

Breaking

जति मिल्ने साथि भए पनि यस्तो कुरा कहिले नगर्नु, पछुटाउनु पर्ला

काठमाडौ । जब हामी कसैको गर्भबाट जन्म लिन्छौं, स्वत हाम्रा साइनो-सम्बन्ध स्थापित हुनपुग्छ । कोही हाम्रा बुवा बन्छन्, कोही आमा । कोही दिदीभाई, कोही दाजु-बहिनी । काका, कार्की, फुपु, फुपा, मामा, माइजु अनेक किसिमका साइनो बन्छ । यी हाम्रो जन्मजात साइनो वा सम्बन्ध हुन् ।
हामी हुर्कदै जान्छौं र आमाको काखबाट भूँइमा हिँडडुल गर्न सक्ने हुन्छौं । बुवाको काँध छाडेर गाउँ-घर चाहर्ने हुन्छौं । एउटा समाजभित्र हामीले आफुलाई पाउँछौं । त्यही समाजमा हामीले अरु सम्बन्ध बनाउँछौं । ति सम्बन्धहरु मित्रताका सम्बन्ध हुन् ।
जीवन जिउने क्रमसँगै हामी समाजमा घुलमिल हुन्छौं, पढ्न थाल्छौं, काम गर्न थाल्छौं, पेशा-व्यवसाय अपनाउँछौं । यी सबै कुरामा हामीलाई कसै न कसैको साथ-सहयोग चाहिन्छ । कसैको हौसला चाहिन्छ । कसैको ढाडस चाहिन्छ । कसैको आड चाहिन्छ । र, हामीलाई आफ्नो जीवन सहज बनाउन जोडिने यी सबै पात्रहरु हाम्रा मित्र हुन् । अभिन्न मित्र । साथी । संगी ।
सामाजिक जीवनमा साथीको अति महत्व छ । साथीको अर्थ साथ दिने हो । निःस्वार्थ साथ दिने । यस्तो साथी जो सुखमा रमाउन आइपुग्छन्, दुःखमा सम्हाल्न आइपुग्छन् ।
साथी कस्तो बनाउने वा कस्तोसँग साथीको सम्बन्ध बनाउने भन्ने कुराले हाम्रो समग्र जीवनमै प्रभाव पार्छ । भनिन्छ नि, संगत गुणाको फल । अर्थात जस्तो साथीसँग संगत गरिन्छ, हामीमा त्यही प्रवृत्ति, स्वभाव विकास हुन्छ । त्यसैले पितापूर्खाहरुले भन्ने गरेका छन्, ‘असलको संगत गर्नु ।’
एउटा भनाई छ, मूर्ख साथीभन्दा विद्वान सत्रु ठिक । यस भनाईले के प्रष्ट पार्न खोजेको छ भने, खराब वा मूर्ख मित्र बनाउनुको कुनै तुक छैन । त्यसैले साथी बनाउँदा सधै असल वा राम्राहरुको बनाउनुपर्छ ।
सफलताका लागि साथ र सहयोग
हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् ।
हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि पनि हामीलाई राम्रो साथीहरु चाहिन्छ । यस्ता साथीहरुसँगको सहकार्य वा टिमवर्कले कुनैपनि काम गर्न सहज हुन्छ ।
साथी बनाउनुको एकमात्र फाइदा छैन । साथी भनेका दुःखमा सम्हाल्ने र खुसीमा उत्साह साट्ने पात्र हुन् । साथीको महत्वलाई बुझेर हाम्रा पूर्खाहरुले यसको महत्व एवं मूल्यबारे अनेक कथा, किंवदन्तीको विकास गरे । सुदामा र कृष्णजीको आदर्श मित्रताबाट पनि हामीलाई यसको पाठ सिकाइयो ।
खुसी र तनावमुक्त जीवनका लागि साथी
अहिले भौतिक विज्ञानमा पनि साथीको महत्वलाई प्राथमिकता दिइने गरिएको छ । हामी आ-आफ्नै काम धन्दा, पेशा व्यवसाय, परिवार आदिको चक्करमा लागेर साथी संगत छुटाउँदै गएका छौं । हाम्रा साथी-संगत पातलिएको छ । यस्तो अवस्था छ कि, कुनै दिन उन्मुक्त खुसी साट्न परेमा हामीसँग साथीहरु हुँदैनन् । कुनै विपतमा सर-सहयोग खोज्नुपर्‍यो भने हामीसँग साथीहरु हुँदैनन् । यसरी एक्लिदै गएको हामीमा तनाव, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्या थपिदै गएको छ । पछिल्लो समय डिप्रेसनबाट मुक्त हुनका लागि पनि साथीको सर्कल बनाउनुपर्छ भन्न थालिएको छ ।
यसैगरी हामीले अहिले खुसी गुमाइरहेका छौं । पैसा, करियर, धन-दौलत, प्रगति, सफलताको चक्करमा हाम्रो खुसी खुम्चिएको छ । यसरी खुम्चिदै गएको खुसी फर्काउनका लागि साथीहरु नै आवश्यक हुन्छ भन्न थालिएको छ । जति धेरै साथी हुन्छन्, हामीसँग खुसीका स्रोत पनि उत्तिनै धेरै हुन्छन् ।
हामीले जीवनयापनका क्रममा भेट्ने र संगत गर्ने साथीहरु पनि फरक फरक हुन्छन् । कोही व्यवसायिक साथी हुन्छन् । कोही पेशागत साथीहरु हुन्छन् । यस्ता साथीहरुको संगतले हामीलाई आफ्नो पेशा-व्यवसाय अगाडि बढाउन काम लाग्छ । अर्काथरी साथी हुन्छन्, जोसँग हामी विना स्वार्थ सम्बन्ध स्थापित गर्छौं । यस्ता साथीसँग नितान्त व्यक्तिगत कुराहरु पनि खुलाउँछौं ।
केही दुरी साथीसँग पनि
तर, साथीसँग हामी जतिसुकै घनिष्ठ भएपनि, जतिसुकै नजिक भएपनि एउटा दुरी भने कायम राख्नुपर्छ । मनका सबै कुरा साथीसमक्ष पोख्नु त्यती ठिक हुन्न । हुन त भावनामा बहकिएर साथीसँग जस्तो पनि वा जे पनि कुरा साझेदार गर्छौं । कतिसम्म भने, घर परिवार वा आफ्ना दाम्पत्य जीवनबारे पनि हामी साथीसँग कुरा गर्छौं । तर, यस्तो कुरामा भने हामी सावधान हुनुपर्छ ।
हामी आर्थिक कुरा पनि साथीसँग शेयर गर्छौं । घरायसी कुराहरु शेयर गर्छौं । दम्पतीबीचको सम्बन्ध, खटपटबारे पनि खुलेर साथीसँग कुरा गर्छौं । यस किसिमको प्रवृत्तिले भने भोलिको दिनमा समस्या निम्त्याउन सक्छ । किनभने आज जो हामीसँग घनिष्ठ मित्र बनेका छन्, भोलि उनीहरुसँग हाम्रो सम्बन्ध टुट्न सक्छ । त्यसैले सबै कुरा साथीलाई शेयर गर्नु हुँदैन । – onlinekhabar bat