पाल्पाको निस्दी गाउँपालिका अन्तर्गत अर्चलेको लेकडाँडालाई कबुलियती वन बनाई आयआर्जन गरिने - MONGOL KHABAR

Breaking

पाल्पाको निस्दी गाउँपालिका अन्तर्गत अर्चलेको लेकडाँडालाई कबुलियती वन बनाई आयआर्जन गरिने

पाल्पा २० माघ । निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चलेमा रहेको लेकडाँडालाई कबुलियती वन बनाइने भएको छ । निस्दी गाउँपालिका वडा नम्बर, ६,अर्चलेका वडाध्यक्ष मेखबहादुर सुनारीको अध्यक्षतामा बसेको भेलाले उक्त निर्णय गरेको हो ।
लेकडाँडालाई कृषि, वन र पशु व्यवसायिक उत्पादन, प्रवर्द्धन गर्ने उद्देश्यले कबुलियत वनमा जाने निर्णय भएको वडाध्यक्ष सुनारीले बताएका छन । लगभग १ सय ५० हेक्टर क्षेत्रफल रहेको लेकडाँडा क्षेत्रमा हाललाई केही क्षेत्रफलमा दालचीनी, अम्रिसो र टिमुर खेती गर्ने निर्णय समेत गरेको छ ।

संघीय सांसद दलबहादुर रानाको सांसद बिकास कोष निर्वाचन क्षेत्र नम्बर १ पाल्पाबाट १० लाख रुपैयाँ लेकडाँडा कृषि,वन र पशु व्यवसायिक उत्पादनका लागि विनियोजन समेत भएको छ । भेलाले कृष्णबहादुर सुनारीको अध्यक्षतामा ९ सदस्यीय वन उपभोग तथा संरक्षणका लागि समिति समेत गठन गरेको छ । जसको सचिबमा लालबहादुर राना र कोषाध्यक्षमा पुष्प सारु मगर चयन गरिएको छ ।

समितिको सदस्यहरुमा जनी सरा सुनारी,गुमौती राना, भुमि सरा खनगाहा,चित्तल सिंह खनगाहा, चक्र बहादुर राना र सुधन राना रहेको छ । वन प्राविधिक रामचरण चौधरीले सहजीकरण गर्नुभएको भेलाले मीनबहादुर रानाको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती समेत गठन गरेको छ ।