बिप्लबले ८ गते गरिएको लुम्बिनी बन्द आह्वान कार्यक्रम फिर्ता गर्यो - MONGOL KHABAR

Breaking

बिप्लबले ८ गते गरिएको लुम्बिनी बन्द आह्वान कार्यक्रम फिर्ता गर्यो

बुटवल, ७ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आव्हान गरेको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ ।
आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो ।
मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहाँ गरेपछि बन्द फिर्ता गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीका व्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले मंगलबार विज्ञप्ति जारी गर्दै झुठ्ठा मुद्दा लगाई गिरफ्तार गरिएका नेताहरुलाई प्रशासनले रिहा गरेपछि पूर्वघोषित संघर्षको कार्यक्रम अन्तरगत फागुन ८ गते अर्थात बुधबार हुने भनिएको लुम्बिनी व्यूरोका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता गरिएको जनाएका छन् ।