नवलपरासीको विभिन्न ठाँउमा बम बिस्पोट, जग्गा कब्जाको घोषण नागरिक त्रासमा - MONGOL KHABAR

Breaking

नवलपरासीको विभिन्न ठाँउमा बम बिस्पोट, जग्गा कब्जाको घोषण नागरिक त्रासमा

जगत ठाडा मंगोल
नवलपरासी । ३० फागुन
पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानमा बिहीबार बम विष्फोट र आगजनीका घटना भएका छन् । व्यक्तिगत जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती बजारमा बिहीबार दिउँसो बम विष्फोट भएको छ । डिभिजन वन कार्यालय नजिक भएको विष्फोटमा कुनै मानविय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दै विष्फोट भएको हो । बम विष्फोटको आवाज शक्तिशाली रहेको स्थानीयले बताएका छन् ।

पूर्वी जिल्लाकै राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो । बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा विप्लव समुहले बिहीबार नेपाल वन्दको घोषणा गरेका कारण दुवै घटना उक्त समूहले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा बिहीबार बिहान ट्रकमा आगजनी गरिएको छ । ८÷१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ । आगलगीबाट ट्रकका टायर पछाडीको भागमा क्षति पुगेको छ ।

यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नाउँबाट पश्चिम नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका– ६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडीएको छ । उक्त जग्गा एक व्यक्तिको नाउँमा थियो । स्थानीय जनतालाई वर्षौ देखी जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर अन्य व्यक्तिलाई बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिईएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन् । राती गाडिएको झण्डालाई प्रहरीले बिहानपख निकालेर फालेको छ ।

बन्दको प्रभाव दुवै जिल्लामा परेको छ । बन्दका कारण लामो दुरीका सवारीसाधन ठप्प बनेका थिए । पश्चिम जिल्लाका केही बजार क्षेत्र फाट्टफुट्ट खुलेपनि पूर्वी जिल्ला भने पूर्णरुपमा प्रभावित बनेको छ ।