जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ - MONGOL KHABAR

Breaking

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ

फाइल तस्बिर
कैलाली । फाल्गुन २२,  जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले रेशमलालसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश  चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह उपनामका सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डगौरा चौधरीलाई जन्मकैद गर्ने फैसला गरेको हो । श्रवण नाबालक भएकाले सजाय आधा गर्दै १० वर्ष जेल बस्नुपर्ने फैसलामा उल्लेख छ ।

अदालतले घटनामा दोषी रहेको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो । तनावर अलि जागा, रामनरेश चौधरी र विश्राम चौधरीलाई भने घटनामा दोषी नदेखिएको भन्दै अदालतले पूर्ण सफाइ दिने फैसला गरेको छ । पूर्ण सफाइ पाएका तीनजनासहित ३ वर्षको कारागारको सजाय पाएका १२ जना गरी १५ जनालाई आजै थुनामुक्त गर्ने तयारी छ ।

घटनापछि फरार रहेका रेशम चौधरीले गएको वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा मा आत्मसमर्पण गरेका थिए । उनलाई त्यहाँबाट जेल सारेर काठमाण्डौ ल्याइएको छ । जेलमै भएका बेला संघीय संसदले केही दिन अघि चौधरीलाई सांसदको सपथ गराएको थियो ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोप लागेका ३१ जना अझै फरार छन् ।