अष्ट्रेलियाको संघीय निर्वाचनको ईतिहासमा पहिलो पटक नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार - MONGOL KHABAR

Breaking

अष्ट्रेलियाको संघीय निर्वाचनको ईतिहासमा पहिलो पटक नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार

हेमन्त काफ्ले 
सिड्नी, नवलपुर  ३० चैत
अष्ट्रेलियाको संघीय निर्वाचनको ईतिहासमा पहिलो पटक नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार बनेका छन् । यहाँको सत्तासीन  लिबरल पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो ।
संघीय संरचनामा यति ठूलो फड्को मार्ने सम्भवत संसारमा छरिएर बसेका नेपाली मुलका परमेज पहिलो युवा हुन्। अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपालीको बाहुल्यता रहेको वार्टन क्षेत्रबाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेपछि त्यस क्षेत्रका नेपालीमा ठूलो उत्साह देखिएको छ।

यो साच्चीकै अस्ट्रेलियाको इतिहासमा पहिलो पटक नेपाली मुलका युवालाई केन्द्रीय संसदमा पुग्ने ठूलो मौकाका रुपमा हेरिएको लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले बताए।अस्ट्रेलियाको मुल राजनीति प्रवाहमा केही वर्षदेखि सक्रीय परमेजको स्थायी घर नवलपरासी हो।

बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिस गरेको हो। पीजे श्रेष्ठ उपनामले चर्चित उनी अष्ट्रेलियामा नेपाली समूदायको दोस्रो पुस्ताका प्रतिनिधि हुन्। २० वर्ष अघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकको साथ अष्ट्रेलिया आएका थिए। परमेज श्रेष्ठ मिष्टर नेपाल ओसिनिया समेत हुन्।

‘यो मेरो लागि मत्र नभएर सम्पूर्ण नेपाली समुदायको लागि निकै ठूलो उपलब्धि हो भन्ने मैले ठानेको छु, परमेजले सेतोपाटीसँग भने, ‘यस क्षेत्रमा नेपालीहरुको निकै बाक्लो बस्ती रहे पनि राजनीतिमा भने त्यस्तो प्रभाव देखिएको थिएन। तर लिबरल पार्टीले मलाई बिश्वास गरेर जुन मौका दिएको छ,यो सबैभन्दा महत्वपूर्ण पाटो हो।’

अस्ट्रेलियाको सत्तासिन दलले आफ्नो काम र नेपालीहरुको प्रभाव देखेर पनि आफूलाई अगाडि बढाउन लागेको उनले दाबी गरे।‘वार्टन क्षेत्र बहुसांस्कृतिक समुदायको धनी क्षेत्र हो, यस क्षेत्रमा रहेका समुदायको आवाज बन्ने प्रयास गर्ने छु। हिजो राति पार्टीले मलाई टेलिफोन मार्फत त्यस क्षेत्रमा मलाई उम्मेदवार बनाउने भएको खबर दिएको हो र आधिकारीक रुपमा भोलि पर्सीसम्म सार्वजनिक हुने छ’, परमेजले भने।

लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले उनी संस्थाको युथ कोर्डिनेटर पनि भएको र नेपालीहरुको प्रभाव अस्ट्रेलियामा बढ्दै गएको यो उम्मेद्वारीले प्रमाणित गरेको बताए। हामीलाई यो समाचारले निकै उत्साहित बनाएको छ र परमेजको जितका लागि सबै नेपाली एक भएर लाग्ने छौ,’ थापाले भने।

श्रेष्ठलाई उम्मेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास रहेको छ। यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हस्र्ट्भिल क्षेत्र पर्छ। यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन्।

न्यूसाउथवेल्सको राज्य चुनावमा निकै सक्रिय रहेका परमेजलाई यस क्षेत्रबाट उठाउने निर्णय ऐतिहासिक भएको छ। उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिस गरिएका पहिलो नेपाली मूलका ब्यक्ति हुन्।