धनबहादुर ठाडा
पाल्पा । निस्दी गाउँपालिका वार्ड नम्बर ४, मित्यालमा सुर्यमुखीको खेतीले गाउँलाई नै सुन्दर बनाएको छ । मित्यालको मुढाबासका कृषकहरुले लगाएको सुर्यमुखी खेतीले यतिबेला सबैको ध्यान मित्याल तिर तानेको छ ।
निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र स्थानीय कृषकहरुको सहभागितामा मुढाबास सुर्यमुखी पकेट कार्यक्रम अन्तर्गत खेती गरेको हो । सँधै मकै लगाउने खेतमा यस वर्ष मुढाबासका ४५ घरधुरी कृषकहरुले १ सय ७२ रोपनी खेतमा सुर्यमुखी खेती लगाएको कृषक हर्ष बहादुर सुनारीले बताए ।
जिल्ला कृषि विकास कार्यालय पाल्पामा २०६४ मा जनसुधार आई. पि. एम. कृषक पाठशाला दर्ता गरेर तरकारी बाली लगाउदै आएका मुढाबासका कृषकहरुले यस वर्ष सुर्यमुखी खेती गरेको आई.पि.एम. कृषक पाठशालाका अध्यक्ष मिन बहादुर सुनारीले बताए ।
संधै परम्परागत खेतीले मात्रै कृषिमा सुधार नभएकोले पनि केहि राम्रो हुने आशामा सुर्यमुखी खेती गरेको अध्यक्ष सुनारीले भने । हाइब्रीड जातको सुर्यमुखी लगाएर मकैको उत्पादनले भन्दा बढी आम्दानी हुने आशा यहाँका कृषकहरुको रहेको छ ।
विरुवामा रोग लागेको खण्डमा कृषि प्राविधिकहरु आएर उपचार तथा सल्लाह दिदै आएका अध्यक्ष सुनारीले बताए । सुर्यमुखी उत्पादन भएपछि यसको व्यवस्थापनमा पनि सघाउने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताए ।