गोपाल गुरुङको सम्झना - MONGOL KHABAR

Breaking

गोपाल गुरुङको सम्झना


काठमाडौँ । मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले मंगोल दर्शनका प्रणेता डा. गोपाल गुरुङको देशबिदेशमा सम्झना गर्दै तेस्रो स्मृति शोकसभा मनाएको छ । 
जुन १०, २०१६ मा ब्लड क्यान्सरको कारण उपचार गर्दा गर्दै ललितपुरको अल्का अस्पतालमा निधन भएको थियो । आफ्नो इच्छा चाहनालाई दबाएर सामन्तीहरुको बिरुद्ध लड्ने शाहसी, दूरदर्शी, जुझारु प्रष्ट वक्ताका रुपमा लोकप्रिय नेता गुरुङको प्रत्येक वर्ष सम्झना गरिन्छ ।
सन् १९३९ मा जन्मिनु भएका गोपाल गुरुङ एक बहुमुखि प्रतिभाका धनि थिए । शिक्षक, साहित्यकार, पत्रकार, चित्रकार, लेखक–प्रकाशक साथै महान राजनीतिज्ञ समेत थिए । राजा र राजतन्त्रलाई आफ्नो दुस्मन घोषणा गरेकैले जीवनभर सकसपूर्ण जीवन व्यतित गर्नु भएको थियो । 
महेन्द्र र बिरेन्द्रलाई पटक–पटक भेट गरी नेपालको र विश्वको वास्तविक राजनीतिबारे पढाउने हक्की स्वाभावका गुरुङ कहिल्यै आफ्नो सिद्धान्तबाट बिचलित हुँदैन थिए । नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेको कारण राजा महेन्द्र सँग सम्बन्ध चिसियो । 
राजा बिरेन्द्र सँग पनि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकार घोषणा गर्न अनुरोध गर्दा नमानेपछि राजाहरु गरिव जनताको कुरा सुन्दैनन्, राजा रहेसम्म जनता कंगाल हुन्छ भन्दै राजा उन्मुलन अभियानमा लम्किए । कहिले अञ्चलाधिश, राजदुत त कहिले मन्त्रीको प्रलोभन देखाएर बिचलित बनाउन शासक लागिरहे । यस्तै राजाहरुको रवैया देखेर उहाँले राजा भनेको शोसक सामन्तीको जरा हो । यसलाई जरै देखि उखेल्न आवश्यक छ भनि सन् १९७९ देखि खुलमखुल्ला राजतन्त्रको विरोधमा लाग्नु भएको थियो ।
सन् १९८५ मा “नेपाली राजनीतिमा अदेखा सचाइ” पुस्तकका कारण गुरुङलाई राजगद्धी ताकेको, साम्प्रदायिक फैलाएको, मंगोल र आर्यमा बिखण्डल ल्याएको, असहिष्णुता फैलाएको भन्दै दजनौं बिल्ला भिराउदै सुनधारास्थित केन्द्रिय कारागार भद्रगोलमा ३ वर्षको कठोर सजाए दिइयो । 
जेलबाहिर हुँदा पुस्तक लेखि राजतन्त्रको जरोलाई हल्लाइ दिए भने जेलभित्र मंगोल दर्शनको घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको स्थापना गर्नु भएको थियो । वुद्धको दर्शनबाट प्रभावित डा. गुरुङ समानता स्वतन्त्रता र भातृत्वको स्थापना हुनु पर्छ भन्ने मान्यता राख्थे ।
सिक्किममा नरबहादुर भण्डारीको शासनको अन्त्य देखि पवन चाम्लिङ उदय हुनुमा गोपाल गुरुङकै देन रहेको कुरा वेला वेला कार्यकर्तालाई बताउने गुरुङ धेरैबाट आफुले धोका पाएको सुनाउथे । राजा बिरेन्द्रलाई आजीवन राष्ट्रपति भइदिन लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय शासन घोषणा गर्न लिखित आग्रह गरेपछि माओबादीको उदय भएको थियो । ज्ञानेन्द्र शाहलाई सोही आग्रह गर्दा र अस्तित्वको खोज पुस्तक लेखेपछि राज्य विप्लपको मुद्धामा गिरफ्तार गर्न ठाडो ज्ञानेन्द्रको आदेश पछि ५ बर्ष भूमिगत हुनु परेको थियो । 
२००९ मा भारतका मूलबासीहरुको संस्थालाई सम्बोधन गरेर फर्किए लगत्तै बिरामी भई थलिएका गुरुङ उपचार पछि सामान्य सुधार आएको थियो ।  र पनि बिकट ठाउँहरुमा एकपट भएपनि पुग्नु पाए भावी पुस्तालाई सजिलो हुन्थ्यो भनेर दीर्घ रोगी बृद्ध शरिरलाई घिसार्दै घिसार्दै आफ्नो दर्शन बाड्नु पुग्नु हुन्थ्यो ।

 जीवनको आफ्नो राजनीतिलाई पूर्णविराम लगाउदै गर्दा उहाँले भन्नु भएको थियो, ‘मैले खोजेको जस्तो, चाहेको जस्तो भाईबहिनीहरु भेट्टाए, जस्ले निर्भिक भएर बोल्न सक्छ, डटेर बोल्न सक्छ । यसकारण मैले नेता बन्न आवश्यक छैन, नजानेको केही कुरा सिकाउछु । मेरो सपना पुरा भएको छ र म पनि पुरा भए ।” यो रहस्यमय भनाईसंगै गोपाल गुरुङ साच्चै आफू पूरा भएको सिद्ध गर्दै जुन १० तारिख यस धर्तिबाट बिलिन हुनु भयो, जुन दिनलाई सम्झना गरिएको छ ।