लेकबेसि यातायातको मनमानीले ९ किलोमिटरको बाटो यात्रा गर्न दिनभरी गाडीको पर्खाई, यात्रुले प्रशासनलाई गुहार्यो - MONGOL KHABAR

Breaking

लेकबेसि यातायातको मनमानीले ९ किलोमिटरको बाटो यात्रा गर्न दिनभरी गाडीको पर्खाई, यात्रुले प्रशासनलाई गुहार्यो

नवलपुर । साउन ३ शुक्रवार, गैँडाकोटको कालीगण्डकी चोकबाट ढोडेनी जाने जिपले मनलाग्दी गर्न थालेपछि यात्रुहरु मारमा परेका छन् । दैनिक घण्टौँ सम्म जिप कुरेर बस्नु पर्ने र जिप कतिखेर जान्छ भन्ने नै यकिन समय नहुँदा आफूहरु निकै समस्यामा पर्ने गरेको यात्रुहरु बताउँछन् ।
अझै बढी समस्या त यात्रुहरुले बर्षाकोे बेला भोग्नु परेको छ । यो बेला त झन् जिप कतिखेर जाने कतिखेर आउने नै निश्चित नहुँदा यात्रा निकै कष्टकर बनेको यात्रुहरु बताउँछन् । दैनिक एक दर्जनभन्दा बढी सवारी साधन गैँडाकोट कालीगण्डकी चोकबाट ढोडेनी हुँदै थामबेसी, बुलिङ्टार, कोटा लगायत क्षेत्रका यात्रु लिएर जाने गरेका छन् । तर जिप जाने निश्चित समय भने तोकिएको छैन ।

त्यस क्षेत्रमा लेकबेसि यातायात ब्यवसायी समितिमार्फत जिपहरु सञ्चालन भएका छन् । जिप सञ्चालकले आफनो अनुकुलतामा यात्रुले जिप भरिए जाने नभरिए चढेका यात्रु समेत झारेर अलपत्र पारी छाड्ने गरेको दुखेसो यात्रुहरुले बताउने गरेको छ । जबसम्म जिप भरिँदैन, तबसम्म जिप नचल्दा यात्रुहरु घण्टौँसम्म जिप कुरेर बस्नु पर्ने बाध्यता छ ।

गैंडाकोटको कालीगण्डकी चोकमा घण्टौँसम्म गाडी कुरेर बस्नु पर्ने बाध्यतामा आफूहरु रहेको यात्रु मोतीमाया पुलामीले बताउनु भयो । दिनहुँ यो समस्या भोग्न परेको बताउँदै उहाँले दैनिक १ दर्जन जिप चल्ने यो सडकमा अति आवश्यक र ईमरजेन्सी परेका बेला सवारी साधन पाउनै मुश्किल हुने गरेको बताउनु भयो ।

सवारी साधनको सञ्चालनका लागि निश्चित समय नतोकिएकोले अचानक बिरामी परे तत्कालै स्वास्थ्य उपचारका लागि अस्पताल जान पनि सवारी साधन नपाउने अवस्था रहेको स्थानीय बताउँछन् । गाडी सञ्चालक इन्द्र ज्योति पोखरेलले यात्रु भरिएपछि मात्रै गाडी चल्ने भएकोले ४–५ घण्टासम्म गाडी कुर्न पर्ने बताउनु हुन्छ ।

बर्खामा हिलो र हिउँदमा धुलो हुने उक्त सडकमा सवारी साधन चलाउन पनि असहज हुने भएकाले गाडी भरिएपछि मात्रै गाडी चलाउने गरेको उहाँले बताउनु भयो । गैँडाकोटदेखि ढोडेनीसम्मको दुरी करिब ९ किलोमिटरको हाराहारीमा रहेको छ । ढोडेनीकै लागिमात्रै ६ वटा जिप चल्ने गर्छन् । ती जिप चल्ने निश्चित समय नहुदा ९ किलोमिटरको यात्रा गर्न दिनभर जिप कुर्नु पर्ने बाध्यतामा आफुहरु रहेको यात्रुहरु बताउँछन् ।
यो समस्या ढोडेनी जाँदामात्रै नभएर ढोडेनीबाट गैँडाकोट आउँदा पनि पर्ने गरेको स्थानीयको भनाई छ ।

स्थानीयले बाटो मर्मतका लागि आफूहरुले पटक पटक नगरपालिका र वडा कार्यलयमा पहल गर्दा पनि सुनुवाई नभएको बताउँछन् । ढोडेनी चल्ने जिपको निश्चित समय तोकिदिएर त्यो समयमा अनिवार्य त्यहाँबाट छुट्ने ब्यवस्था मिलाएर गाउँवासीको समस्या समाधानमा ध्यान दिन स्थानीय प्रशासनसँग यात्रुहरुले आग्रह गरेका छन् । दुखद कुरा त गैँडाकोट देखि ढोडेनी सम्म करिब २० बर्ष अगाडि देखि गाडी संचालनमा आए पनि अहिले सम्म उक्त खण्डमा ग्राबेल सम्म नभएको कारणले बर्षादको बेलामा गाडी आवातजावत सम्म बन्द हुने स्थानियको गुनासो छ ।