रुद्र श्रीसमगर
पोखरा । साउन ८ बुधबार, नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले पृथ्वीनारायण क्याम्पसमा सरसफाई कार्यक्रम हिजो मंगलबार सम्पन्न गरेको छ ।
बिहानैदेखि निरन्तरको झरीको समेत पर्वाह नगरी मगर विद्यार्थीहरुले सरसफाई गरेका थिए । रचनात्मक र सिर्जनात्मक गतिविधि मार्फत संगठन सुदृढीकरण तथा सकारात्मक सोंचको विकासका लागि संघले क्याम्पस प्रशासन क्षेत्र वरिपरि सरसफाई कार्यक्रमको आयोजना गरेको अध्यक्ष निरज थापामगरले बताउनुभयो ।
सो अवसरमा विभिन्न राजनीतिक विद्यार्थी संगठनका साथै दृष्टिविहीन तथा अपाङ्ग विद्यार्थीहरु समेत सरसफाई कार्यक्रममा सहभागी थिए । कार्यक्रममा ७७ जना विद्यार्थीहरु सहभागी भएको संघले जानकारी दिएको छ ।
क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले सरसफाई कार्यक्रमको सुरुवात गर्दै मगर विद्यार्थी संघले क्याम्पसको सौन्दर्य कायम गर्नका लागि सरसफाई कार्यक्रमको आयोजना गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यक्रमहरु कुनै पनि संगठनलाई चिनाउने र स्थापित गर्ने राम्रो माध्यम भएको भन्दै क्याम्पसलाई राम्रो बनाउन सबैको योगदान उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इाचार्ज गोविन्द पुनमगरले पनि बोल्नुभएको थियो । संघका सचिव विवेक थापामगरको संचालनमा भएको कार्यक्रममा अध्यक्ष निरज थापामगरले सरसफाईमा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।
सरसफाई कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका सचिव रुद्र श्रीसमगर नेपाल विद्यार्थी संघ मूल इकाई सभापति मिलन आलेमगर नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष नारायण गिरीलगायतको पनि सहभागिता रहेको थियो ।
