नवलपुर जिल्लाको बौंदिकाली गाउँपालिका डेढगाउँमा राष्ट्रिय प्रशारण विद्युत लाईनको परिक्षण सफल - MONGOL KHABAR

Breaking

नवलपुर जिल्लाको बौंदिकाली गाउँपालिका डेढगाउँमा राष्ट्रिय प्रशारण विद्युत लाईनको परिक्षण सफल

नवलपुर । हाल सम्म राष्ट्रिय प्रशारण लाईन विद्युतले नछोएको नवलपुर जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका डेढगाउँमा आज पहिलो पटक विद्युत लाईन परिक्षण सफल भएको छ ।
सहकारीको माध्यमबाट स्थानीय बासिन्दालाई राष्ट्रिय प्रशारणको विद्युत लाईनबाट सेवा प्रदान गरि गाउँ उज्यालो पार्ने र विभिन्न विद्युतिय उपकरणहरु चलाउने उद्वेश्यका साथ २०७२ सालमा स्थापना भएको बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडको पहल र नेपाल सरकार,नेपाल विद्युत प्राधिकरणको लगानी र रेणु कन्ट्रक्सन कम्पनी प्रा लि सिराहाको निर्माण जिम्मेवारीमा डेढ बर्ष अघि काम सुरु भएको थियो ।

हाल बैकल्पिक सौर्य उर्जा र लघु जलविद्युतको भरमा मात्र जीवन यापन गरेका डेढगाउँ बासीले राष्ट्रिय प्रशारणको विद्युत प्रयोग गर्न पाउने भएपछी खुसी भएका छन । हाल सहकारीको माध्यमबाट बौदीकालीको डेढगाउँ र मिथुकरमको सबै टोल एवं रकुवाको केहि भागमा विद्युत बिस्तार गरि आज परिक्षण सफल भएको बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडका अध्यक्ष पदम बहादुर बिश्वकर्माले बताउनु भयो। तनहुँको घिरिङ्ग गाउँपालिका – ४ फुलाबाट लाईन जोडि मन्दार बाट डेढगाउँमा विद्युतलाईन जोडिएको हो। ५० र १०० के.भि.ए. क्षमताका ट्रासफर्मर जडान सम्पन्न गरि आज ट्रासफर्मर रहेको पोलमा बत्ति बालिएको बौदीकाली – २ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडाले बताउनु भएको छ ।

आज नेपाल विद्युत प्राधिकरण तालचोक शाखा पोखराका ईन्जिनियर मेघनाथ भट्टराई, सुपरभाइजर कृष्णलाल खनाल, रेणु कन्ट्रक्सन कम्पनी प्रा लि सिराहाका प्रबन्धक राजु कुमार श्रेष्ठ, बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बाल प्रसाद ठाडा, बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडका अध्यक्ष पदम बहादुर बिश्वकर्मा,सचिब सुर्य कुमार श्रेष्ठ लगायत उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ता र बासिन्दाको रोहवरमा विद्युत लाईन परिक्षण गरिएको हो ।

८६१ सेयर सदस्य रहेको यस बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेड मार्फत डेढगाउँ र रकुवाको केही भागमा ब्यक्ति,सरकारी एवं गैरसरकारी संस्था उपभोक्तालाई विद्युत लाईन बितरण गरिने साथै हाल सर्भिस केवल र मिटर जडान कार्य तीब्र गतिमा भैरहेकोले अब छिट्टै घर घरमा पनि लाईन जोडि बत्ती बालिने सहकारीले जनाएको छ ।