गृहमन्त्री बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मूलधारमा ल्याउने तयारी गरेको खुलास गरे - MONGOL KHABAR

Breaking

गृहमन्त्री बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मूलधारमा ल्याउने तयारी गरेको खुलास गरे

काठमाडौं । साउन ७ मंगलबार, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मूलधारको राजधानीमा ल्याउने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले सिके राउतलाई जसरी नै विप्लव समूहलाई मूलधारमा ल्याउने बताएका हुन् । वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाको विषयमा प्रष्ट पार्दै गृहमन्त्री बादलले भने, ‘अहिले शान्ति सुरक्षाको अवस्था सुदृढ भएको छ। राजनीतिक स्थायित्वका लागि विप्लव समूह चुनौती बनेको छ। उनीहरुलाई मूलधारमा ल्याउँछौँ।’
गृहमन्त्री बादलले वार्ताबाट पनि राजनीतिक समाधानको बाटो खोजिने बताए। ‘विखण्डनकारी नारा बोकेका सिके राउत र उनका कार्यकतालाई हामीले धरपकडा गरेका हौँ। अहिले उहाँहरु मूलधारको राजनीतिमा आउनुभयो’, सिके राउनको उदाहरण दिँदै गृहमन्त्री बालले भने, ‘विप्लव समूहसँग वार्ता र अनौपचारिक छलफल चलिरहेको छ। उहाँहरु पनि मूलधारको राजनीतिमा आउनुहुन्छ।’
देशभरबाट प्रहरीले विप्लवका पाँच सय बढी नेता र कार्यकतालाई नियन्त्रणमा लिइसकेको छ।  निर्मला पन्तको बलात्कार काण्डका विषयमा भने गृहमन्त्रीले प्रष्ट जवाफ दिएनन्। 
‘निर्मलाको बलात्कार र हत्या हुनुहुँदैन थियो, भइहाल्यो। तर यस्ता किसिमका घटना नयाँ र नौलो होइन’, उनले भने, ‘अपराधलाई राजनीतिकरण गरियो।’
संघीय प्रहरी र सशस्त्र प्रहरी सञ्चालन ऐन संसदीय समितिमा छलफल भइसकेको र अझै केही विषय प्रष्ट पार्नुपर्ने भएकाले केही समय लाग्ने जानकारी गृहमन्त्री बादलले दिए। मदिरा निर्देशिका मन्त्रिपरिषद्मा लगेपनि उद्योगी र व्यवसायीको थप परामर्श गर्नुपर्ने भएकाले अहिले छलफलकै चरणमा रहेको उनले बताए।
गृहले आफ्नो वार्षिक कार्यसम्पादन प्रगतिमा प्रमुख १० कार्यलाई समेटेको छ। विध्वंसात्मक गतिविधि न्युनिकरण, सिके राउतलाई मूलधारमा ल्याएको, राजमार्गमा हुने अवरोध तत्काल सुचारु गरिएको, सार्वजनिक यातायात सिण्डिकेटको अन्त्य, कारागार सुधार, विपद्को घटना घटेको ७२ घण्टाभित्र राहत उपलब्ध, मापदण्ड विपरित परिचालित भएका सुरक्षाकर्मी फिर्ता, संगठीत सुन तस्करीको सञ्जालको अन्त्य लगायत विषय प्रगतिको रुपमा गृहले बुझेको छ।
त्यसैगरी प्रहरीका सात सय ५३ वटै स्थानीय तहमा एकाई विस्तार, ८ वटा जिल्ला प्रशासन कार्यालयलाई नमुना सेवा प्रदायक कार्यालयको रुपमा विकास, दुई प्रदेशमा डिजिटल फोरेन्सिक ल्याब स्थापना, सिडियोसँग कार्यसम्पादन करार सम्झौता, सबै सिडियो कार्यालयमा डिजिटल नागरिक वडापत्र र १० वटामा एप्समार्फत् सेवालगायतका कार्य प्रगति भएको गृहले जनाएको छ।
सशस्त्र प्रहरी बलका १६ वटा एकाई थप गरी ७७ वटै जिल्लामा पुर्‍याएको, एक वर्षमा एक हजार एक सय चारजना फरार अभियुक्त पक्राउ, एक सय सात स्थानमा बोर्डर आउट पोष्ट स्थापना गरिएको गृहले जनाएको छ। 
अध्यागमनलाई अझै सुदृढ तुल्याउन ‘नेपाल पोर्ट’ नामक सफ्टवेयर निमार्ण भइरहेको र केही दिनमै उक्त सफट्वेयर सञ्चालनमा ल्याउने तयारी गृहेको छ।