नवलपरासीको अरुणखोलामा ‘डाइभर्सन’ बगाउदा राजमार्ग अवरुद्ध - MONGOL KHABAR

Breaking

नवलपरासीको अरुणखोलामा ‘डाइभर्सन’ बगाउदा राजमार्ग अवरुद्ध

नवलपरासी । भदौ १ आइतबार, पूर्व पश्चिम राजमार्गको नवलपरासीमा पुल भाँचिदा  बनाईएको ‘डाइभर्सन’ बाढीले बगाएको छ । डाइभर्सन बाढीले बगाउदा पूर्व पश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका अन्र्तगत रहेको अरुणखोलामा पुल भाँचिदा बनाईएको ‘डाइभर्सन’ आज साँझ आएको बाढीले बगाएको हो । बाढीले डाइभर्सन बगाएपछी पुनः राजमार्ग अवरुद्ध हुदा यात्रुलाई सास्ति भएको छ ।
भाँचिएको अरुणखोला पुलको उत्तरतर्फ ‘ह्युमपाईप’ राखि ‘डाइभर्सन’ बनाईएको थियो । तर साँझ पहाडी क्षेत्रमा पानी परेसंगै आएको बाढीले ‘डाइभर्सन’ बगाउदा राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी अरुणखोला प्रहरी नायव  निरीक्षक जनक बहादुर बुढाले बताउनुभयो । खोलामा बाढी ठूलो आएकाले आज राती मर्मत गर्ने सम्भावना समेत कम भएको उहाँले बताउनुभयो ।

साउन २९ गते बुधबार ट्रक पुलमा ठोक्किदा पुलमा क्षति पुगेको थियो । त्यस यता शनिबार बिहान देखी आज साँझ सम्म यात्रा सहज भएको भएपनी अन्य समयमा भने यातायात प्रभावित हुदा यस क्षेत्रमा यातायात  घण्टौं जाममा परेका थिए । आज साँझ ‘डाइभर्सन’ बगाएपछी पुनः यातायात संचालनमा समस्या भएको छ ।

पुलको मर्मत भने शनिबारबाट शुरु गरिएको छ । जति सक्दो चाडो पुल मर्मत गरि यातायात सुचारु गर्न शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले निर्देशन दिनुभएको थियो । पुल बढीमा १५ दिन भित्रमा निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।