काठमाडौ । भदौं २४ मंगलबार, अञ्जन विष्टको दुई गोल प्रेरित नेपालले विश्वकप २०२२ को दोस्रो चरण तथा एसिया कप २०२३ को फाइनल छनोटअन्तर्गत चाइनिज ताइपेइमाथि २-० को जित हासिल गरेको छ ।तेस्रो मिनेटमा विपक्षी टोलीका खेलाडीले नेपाली मिडफिल्डर रवि पासवानमाथि फाउल गरेपछि पाएको फ्री किकबाट आएको बलमा गोल गर्दै अञ्जनले अग्रता दिलाएका थिए ।
मैदानको झण्डै मध्य भागबाट सुजल श्रेष्ठले प्रहार गरेको फ्रि-किकलाई जाली चुमाउन अञ्जन सफल भएका थिए । गत बिहीबार कुवेतविरुद्ध भोगेको ७-० को फराकिलो पराजयसँगै खराब सुरुआत गरेको नेपाली टोलीले ताइपेई रंगशालामा घरेलु टोलीमाथिको अग्रता दोब्बर पार्नका लागि ६२ मिनेटसम्म प्रतिक्षा गर्नु परेको थियो । कप्तान विराज महर्जन फिट नरहेका कारण टोलीमा नरहेपछि गोलकिपर किरण चेम्जोङको नेतृत्वमा मैदानमा उत्रिएको नेपालका लागि अञ्-जनले व्यक्तिगत दोस्रो गोल गर्दै ६२औं मिनेटमा अग्रता दोब्बर पार्न सफल भएका थिए।
उनले सुजल श्रेष्ठले हेडमार्फत दिएको ‘ब्याक पास’लाई पेनाल्टी बक्स भित्रबाट प्रहार गर्दै जाली चुमाएका थिए। गत बिहीबारको खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपछि जित अत्यावश्यक रहेको खेलमा नायक साबित भएका अञ्जनलाई स्वीडिस प्रशिक्षक योहान कालिनले परिवर्तन गरेका थिए।
उनको स्थानमा सन्तोष तामाङलाई मैदानमा उतारिएको खेलको निर्धारित ९० मिनेटसम्म निरन्तर प्रयास गरे पनि नेपालको रक्षापंक्ति छिचोल्न नसकेपछि घरेलु टोली पराजय बेहोर्न बाध्य बन्यो।
गत जुनमा भएको नेपाल-ताइपेइबीच भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। नेपालले कुवेतविरुद्धको पहिलो खेलमा ७-० को फराकिलो अन्तरमा पराजय बेहोरेको थियो भने चाइनिज ताइपेइले जोर्डनसँग २-१ को साँघुरो पराजय भोगेको थियो।
नेपालले आगामी खेल असोज १५ गते जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्ने छ।