दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण - MONGOL KHABAR

Breaking

दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण

मंगोल खबर संबाददाता
काठमाडौं । असोज ९ बिहिवार, दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ  । यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरिसकेको छ  ।
बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । 
बैंक तथा वित्तीय संस्था र अन्य संघ/संस्थालाई पहिलो साता (५/६ गते) देखि नै नोट वितरण गरिसकेको छ । ती संस्थाले पहिल्यै नयाँ नोट पाइए पनि सर्वसाधारणले दोस्रो सातादेखि नोट सटही सुविधा पाउने प्रवक्ता निरौलाले बताए । भवन निर्माणको काम भइरहेकाले यसपालि थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा दिन नसकिने उनले बताए । ‘योपटक बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट वितरण गरिनेछ,’ उनले भने, ‘बालुवाटार पनि भवन निर्माणको काम भइरहेको छ, यसकारण त्यहा पनि ठाउँ साँघुरो छ ।’ यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिनेछ । ‘यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ,’ प्रवक्ता निरौलाले भने, ‘सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँछन् ।’
अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सोही दरले नयाँ नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ । पाँच सय र हजार दरका नोट भने आवश्यकताअनुसार सटही गर्न सकिने उनले बताए । ‘पाँच सय र हजार दरका नोट धेरै कम मात्र माग हुन्छ,’ उनले भने, ‘ती दरका नोट मागअनुसार सटही गर्न सकिन्छ ।’ राष्ट्र बैंकले गत वर्षजस्तै कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नोट वितरण गर्नेछ ।

गत वर्ष नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखा, कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र रत्नपार्क शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । गत वर्ष सर्वसाधारणले ५, १०, २० र ५० दरका दुई बन्डल (बिटा) र एक सयको एक बिटा गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही सुविधा पाएका थिए । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।