पाल्पा रामपुरबाट दलदलेकालागि छुटेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु - MONGOL KHABAR

Breaking

पाल्पा रामपुरबाट दलदलेकालागि छुटेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु

नवलपरासी । असोज २५, नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रु बाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका –६,स्थित निरन्दी खोलामा दुर्घटना हुदा नवलपरासी देवचुली नगरपालिका –४, बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले बताउनु भयो । दुर्घटनामा परी देवचुली –१०, बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्ड, देवचुली –१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीय सङ्गीता पोख्रेल घाइते हुनुभएको छ ।

घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दी खोलाको उकालोमा जिपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जिपमा करिब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।