सर्बसाधरणले बैंकमा नयाँ नोट पाएन, काठमाडौको फुटपाथमा महँगो मुल्यमा नयाँ नोट साट्न बाध्य - MONGOL KHABAR

Breaking

सर्बसाधरणले बैंकमा नयाँ नोट पाएन, काठमाडौको फुटपाथमा महँगो मुल्यमा नयाँ नोट साट्न बाध्य

काठमाडौं : सर्वसाधारणले बैंकहरूमाबाट सहजै नयाँ नोट पाउन नसके पछि फुटपाथको व्यापार चम्किएको छ।सर्वसाधारणले फुटपाथबाट महँगो मूल्यमा पैसा साट्न बाध्य छन्। बैक र सहकारीको संख्या धेरै देखिए पनि सर्वसाधारणले भोग्नु परेको यो सास्ति बुझि नसक्नुको छ ।
राष्ट्र बैकले सरकारी तथा निजी बैंकबाट ग्राहकहरूलाई खुद्रा पैसा दिने जनाएको थियो। तर सबैले बैंकबाट पैसा पाउनै सकेका छैनन्।  सर्वसाधारणले अघिल्ला वर्षको तुलनामा खुद्रा पैसा साट्न झन् समस्या भएको प्रतिक्रिया दिएका छन्। 
दशैंमा टीका लगाएर दिने दक्षिणा नयाँ नोट दिने चलन बढी छ भने राष्ट्र बैकले नयाँ नोट छाप्दा ठूलो व्ययभार बेहोर्नु पर्ने भन्दै पहिले जारी भएका नोट नैं जतन गरेर चलाउने वानी विकास गर्न उपभोक्तालाई आग्रह गर्दै आएको छ। 
रत्‍नपार्कको सडकमा बसेका एक व्यापारीले बुधबार बेलुका ५ बजेसम्म तीन सयजनाका लागि खुद्रा पैसा साटेको बताए। नाम बताउन नचाहने ती व्यापारीले एक दिन बैंकमा लाइन बसेर पैसा संकलन गेरर अर्को दिन बेच्ने गरेका छन्। रत्नपार्क र रानी पोखरी आसपास करिब एक दर्जन खुद्रा व्यापारीले पैसाको व्यापार गरेका छन्। 
कुनैंकुनैं बैंकमा पैसा पाइने भएपनि लाइन बस्दा सास्ती हुने र कतिपय अवस्था लाइन बसेपछि पनि पैसा सकिएको भन्दै नपाएपछि फुटपाथे व्यापारीबाट पैसा साट्नु परेको बताए।
'कृषि विकास बैंकको मुख्य कार्यालय रामशाहपथमा लामो समय लाइन बसेर काउन्टर बन्द भयो भनेपछि पैसा पाइएन, त्यसैले यहाँ पैसा साट्न आएको हो', । रत्नपार्कमा पैसा साट्दै गरेका एक वयोवृद्धाले भने। सरकारी स्वामित्वका अन्य बैंकमा पनि पैसा सहजै पाउन नसकिएको बताइएको छ।
'दिउँसो-बिहान राष्ट्रिय वाणिज्य बैंकको सानो ठिमी शाखामा चार घण्टा लाइन बसेँ तर पैसा सकियो भनेर फर्काइदिए', रत्नपार्कमै पैसा साट्न आएकी सिन्धुलीको प्रतिमा दाहालले भनिन्।
यता राष्ट्र बैंकले भने गत वर्षहरूका तुलनामा पैसा साट्न व्यवस्थित बनाइएको जनाएको छ। तर यस वर्ष बालुवाटारबाट पैसा बाँड्दा लिन आउनेहरुको उपस्थिती कम देखिएको छ। 
गत वर्ष पाँच प्रतिशत कमिशनमा पैसाको व्यापार गर्ने ती व्यापरीहरूले अहिले १० प्रतिशत कमिशन लिएका छन्। एक हजार साट्नु पर्दा एक सय रुपैयाँ कमिशन दिनु पर्ने हुन्छ। 'ठूलो पैसा लिनेले बैंकबाटै लिन्छन्, हामीसँग पाँच हजार १० हजारको मात्रै आउँछन्। १० प्रतिशत कमिशन नलिए दु:खै उठ्दैन', ती व्यापारीले भने'।
बैंकहरूले यस वर्ष एक व्यक्ति १८ हजार ५०० रुपैयाँ मात्रै साटिदिने गरेका छन्। निजी बैंकहरूले राष्ट्र बैंकबाट खुद्रा पैसा कम पाएको भन्दै आफ्ना गाह्रकलाई पाँचदेखि १५ हजारसम्म दिने गरेका छन्। बुधबार धेरै बैंकले खुद्रा पैसा सकिएको भन्दै रित्तै फर्काइदिएका छन्।