कामरेड लोकेन्द्र बिष्ट मगरको खेती : सिउँडी प्रजातिको ड्रागन फ्रूट - MONGOL KHABAR

Breaking

कामरेड लोकेन्द्र बिष्ट मगरको खेती : सिउँडी प्रजातिको ड्रागन फ्रूट

दाङ । मंसिर ७ शनिबार, पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् ।
माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्, तर उनी राजनीतिको खेती छाडेर कालो धान अनि ड्रागन फ्रूटको खेतीतर्फ सोझिए ।
माओवादीका पूर्वकेन्द्रीय नेता एवं जनमुक्ति सेनाका कमिसार विष्ट अहिले युद्धस्तरमै काम गर्छन्, तर राजनीतिमा होइन, कृषि फार्ममा । युद्धकालमा कम्मरमा पेस्तोल हुन्थ्यो, अचेल हातमा सानो कैंची देख्न पाइन्छ ।
दाङको बिजौरीस्थित घोराही–तुलसीपुर सडकको किनारामा गत वर्षदेखि ३ बिघा ५ कठ्टा जमीन १५ वर्षका लागि भाडामा लिएर विष्टले विगत एक वर्षदेखि ड्रागनफ्रुटको खेती थालेका छन् । ड्रागन फ्रूटको खेती नेपालमा नयाँ भएको विष्ट बताउँछन् ।

माओवादी पार्टी परित्याग गरेपछि शुरुमा विष्टले कालो धानको खेती गरेका थिए । दाङ र काभ्रेमा कालो धानको खेतीपछि उनी अहिले ड्रागन फ्रूटतर्फ लागेका हुन् । दाङमा उनको फार्म विस्तारै हेर्न लायक हुँदैछ ।
ड्रागन खेतीतर्फ लागेपछि समयाभावले कालो धानको खेती गर्न छाडेको विष्ट बताउँछन् । तर, अर्को वर्षदेखि त्यसलाई पनि निरन्तरता दिने उनको योजना छ । विष्टका अनुसार कालो धानको चामल प्रतिकिलो १५ सय रुपैयाँसम्म बिक्री गर्न सकिन्छ ।

ड्रागन फ्रूटको कथा


ड्रागन फ्रूटबारे पूर्वमन्त्री विष्टले १५/१६ वर्षअघि जानकारी पाएका थिए । उनका अनुसार नेपालमा पहिलोपटक ड्रागन फ्रूट भित्र्याउने पहिलो व्यक्ति डा. जेएन (जगन्नाथ) राई हुन् । खोटाङबासी राईले सन् २००२ मा भियतनामबाट ड्रागन फ्रूट भित्र्याएको विष्ट को दाबी छ । यसको स्वादचाहिँ पहिलोचोटि चीनमा चाखेको विष्ट बताउँछन् ।

कृषि फार्ममा भेटिएका पूर्वमन्त्री विष्टले सन्तोषको सास फेर्दै भने, ‘मलाई खेतीमा आनन्द आएको छ, कृषिकर्ममै रमेको छु । अझ, नौलो काम गरेको महसुस भएको छ ।’
ड्रागन फ्रूटलाई उष्णप्रदेशीय फल भनिन्छ । सिउँडी प्रजातिको भएकाले सिउँडी हुने ठाउँमा यसको खेती गर्न सकिन्छ । नेपालको  तराई र भित्री मधेसमा पानी लाग्ने तर नजम्ने स्थानमा यसको राम्रो सम्भावना रहेको विष्टको फार्मले पुष्टि गर्दैछ । यसको मूल खेती दक्षिण अमेरिकाको मेक्सिकोमा हुने गर्छ । तर, नेपालमा भने भियतनामबाट भित्रिएको उनी बताउँछन्  ।

विष्टका अनुसार ड्रागन फ्रूट केही सीमित देशहरुमा मात्र उत्पादन भइरहेको छ । बोटमै ६/७ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्न सकिने यो फल बहुउपयोगी भएकाले यसबाट नेपाली किसानको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने उनको दाबी छ ।

ड्रागन फ्रूट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टीअक्सिडेन्टयुक्त फल हो यो । यसको खेती गर्न चाहनेका लागि बिरुवा उत्पादन गर्ने सोचमा छन् विष्ट ।
ड्रागन फ्रूटलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यो रातिमा फूल्ने गर्छ र दिनमा ओइलाउँछ । फूलेको झन्डै एक महिनामा खानका लागि फल तयार हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन ।

त्यसो त दाङमा यसअघि पनि खेती भइसकेको छ । ०७२ सालमा विष्टले कालो धानको खेती गर्दा २४ वटा ड्रागन फ्रूटका बिरुवा स्थानीय वीरबहादुर बुढालाई दिएका थिए । त्यसमा लागेको फल गत वर्ष उनले एक लाखजतिको बेचिसकेका छन् ।

८० लाख ऋण, तीनजना साझेदार

विष्टको फार्ममा अहिलेसम्म तीन चरणमा बिरुवा रोपिएको छ । अब करिब सात हजार तीन सय बिरुवा पुग्ने विष्टले बताए । यो फार्म विष्टसहित तीनजना मिलेर शुरु गरेका हुन् । अहिलेसम्म धेरै कारोबार ऋणमै चलेको छ । अहिलेसम्म करिब ८० लाख रुपैयाँ  विभिन्न व्यक्तिबाट ऋण लिएर काम चलाइएको छ । अब बैंकबाट ऋण लिने प्रक्रिया अघि बढेको उनी बताउँछन् ।

यसको खेतिका लागि पानी अलि बढी आवश्यक पर्ने हुँदा पानीको समस्या छ । अहिलेसम्म दुईवटा इनार खनेर प्रत्येक बिरुवामा थोपा सिँचाइ पुर्याउने प्रयास भइरहेको छ ।

योसँगै एभोकाडोको खेती गर्ने सोचले विरुवा उत्पादन गरिएको विष्टले बताए । उपयुक्त जग्गा भेटिए यसको पनि ठूलै परिमाणमा खेती गर्ने उनको सोचाइ छ । एभोकाडोले तीनदेखि ६ वर्षमा फल दिन सुरु गर्छ र यसमा ड्रागन फ्रूटलाई जस्तो स्याहारको पनि खाँचो नपर्ने उनी बताउँछन् ।

ड्रागन फ्रूटका लागि प्रत्येक बिरुवालाई सिमेन्टका पिलर दिइएको छ भने पोलमाथि टायर राखिएको छ । त्यसो नगर्दा फलले बिरुवा नै  भाँच्ने खतरा रहन्छ ।

राजनीतिमा चुनौतिभित्रै सम्भावना खोज्ने विष्टले यतिबेला खेतीमा पनि यही सूत्र लगाउन खोजेका छन् । विष्टका अनुसार केही समयअघि नयाँ लगाएको बिरुवाले भर्खरै मुना फालेर  रहरलाग्दो देखिएको बेलामा असिनाले चुटेपछि बिरुवालाई गोली हानेजस्तो पूरै प्वाल पारिदियो । अब विरुवा खत्तमै हुने भए भनेर बिष्ट चिन्तित बने । तर, असिना अमृत बनिदियो । तिनै प्वालबाट नयाँ मुना पलाए । उनलाई एउटा नयाँ परीक्षण सफल भएको महसुस भयो– असिनाले क्षति पुर्याए पनि केही नहुँदो रहेछ ।

आगामी वर्षको जेठ अन्तिमदेखि असोजको पहिलो हप्तासम्ममा झन्डै एक हजार बोटले फल दिन शुरु गर्ने विष्टको अपेक्षा छ । ४ देखि ५ हजार किलो फल आगामी वर्ष फल्ने उनको अनुमान छ । राम्रोसँग स्याहार सुसार गर्यो भने एउटा बोटको आयु २० देखि २५ वर्ष हुने गर्छ ।

विष्टले ड्रागन फ्रूटको बीचबीचमा अन्य खेती पनि शुरु गरेका छन् । कुरिलो, सर्पगन्धा, भटमास, बोडी र काउलीको खेती पनि सँगसँगै अघि बढाइएको छ । विविध कृषि फार्म प्रालिका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा फार्म दर्ता गरेर उनी व्यवसायमा लागेका हुन् ।

बजारको समस्या

अहिले विष्टको कृषि फार्म हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । कृषि फार्म मात्रै नभएर यो एउटा कृषि पर्यटनजस्तो बन्न थालेको छ । कतिपयले सिउँडी किन लगाउनुभएको भनेर प्रश्न गर्छन् । विष्ट भन्छन्, ‘यो सिउँडी प्रजाति भए पनि सिउँडी होइन, यो विश्वकै राम्रो फल हो भनेर बुझाउँछु ।’

फार्म हेरिसकेपछि धेरैले खेती गर्ने रुचि देखाए पनि बजार कस्तो होला भनेर आशंका गर्ने गरिएको सुनाउँदै विष्ट भन्छन्, ‘अब मैले नै बजारको समस्या हुँदैन भनेर ब्यवहारबाटै देखाउनुपर्ने चुनौति छ ।’

हरेक वस्तुको उत्पादन भएपछि बजार हुने उल्लेख गर्दै विष्ट यसले पनि नेपालमा बजार पाउने विश्वास व्यक्त गर्छन् । नेपालमा फलफूल खाने बानीको बिकास हुँदै गएको र दक्षिणपूर्वी एशियामा यसको खेती गर्ने लहर नै चलेकाको पूर्वमन्त्री विष्टको भनाइ छ । चीन र भारतमा यसको ठूलो बजार रहेको उनले दाबी गरे ।

अहिले इन्टरनेटको बिकासले गर्दा सूचनाका लागि सजिलो भएकाले नौलो खेती गर्न खासै गाह्रो नभएको उनको अनुभव छ । पूर्वमाओवादी नेता विष्ट राज्यको कृषि नीतिप्रति असन्तुष्टि प्रकट गर्दै भन्छन्, ‘दुःखको कुरा, राज्यले बजारको ब्यवस्था गर्न सकेको छैन । यसतर्फ राज्यको ध्यान नै छैनभन्दा पनि हुन्छ । उनीहरुले सुनेका त होलान्, तर चासो छैन ।’

विष्टले थपे, ‘राज्यले ऋणको व्यवस्था गरिदिने हो भने कृषकलाई सजिलो हुने थियो । अनुदान त झन टाढाकै कुरा भयो । अनुदान खानेले काम गर्दैनन्, काम गर्नेले अनुदान पाउँदैनन् ।’

राजनीति आजीवन गर्ने पेशा होइन

राजनीतिलाई हेर्ने सवालमा आफ्नो कृषिकर्मलाई एउटा क्रमभंगता मान्छन् विष्ट । ‘राजनीति स्थायीरुपमा गर्ने व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो,’ पूर्वमन्त्री विष्ट भन्छन् ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र नि:शुल्क गरिन्छ, तर, राजनीतिमा लागेकाहरु पनि जनतासँगै आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन पनि म कृषिकर्ममा जुटेको हुँ ।’

विष्टका कुरा सुन्दा उनीभित्र राजनीतिक चेत यथावत छ । उनी वर्तमान देशको अवस्थाबारे विश्लेषण गर्दै भन्छन्, ‘एकातिर देश राजनीति गर्नेहरुले बिगारे भन्ने जनतामा वितृष्णा छ भने अर्कोतिर बेरोजगारी ब्याप्त छ, लाखौं युवा विदेशमा छन्, हामी राजनीति गरेकाहरु पनि जनताभन्दा अलग छैनौं, तपाईहरु पनि देशभित्रै बसेर केही गर्नुस् र यो सम्भव छ भनेर देखाउने मेरो सपना हो ।’

दृढ ईच्छाशक्तिका साथ लागियो भने थोरै पुँजीबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने संदेश दिने ध्याउन्नमा देखिन्छन् विष्ट । राज्य राजनीतिमा मात्रै अल्झेको र जनता पनि सजिलै धेरै धन कमाउने सपनामा मात्रै लाग्दा देश अगाडि बढ्न नसकेको उनको निष्कर्ष छ ।

‘अब राज्य र राजनीति गर्ने हर व्यक्तिले उत्पादनविना अघि बढ्न सकिँदो रहेनछ भन्ने जानून्’ विष्टले सुझाए, ‘राजनीति भनेको समाजसेवा हो, सधैं सकृय राजनीतिमा झुण्डेर मात्रै समाजसेवा हुँदैन । एउटा निश्चित कालखण्डसम्म समाजसेवा हुन्छ, जीवन नै राजनीतिमै बिताउन थाल्ने हो भने यो पेशा हुन्छ । राजनीति गर्नेहरु फेरि फर्कने जनतामै हो, उनीहरु श्रम संस्कृतिमै रमाउनुपर्छ ।’

पूर्वमन्त्री विष्ट भन्छन्, ‘आधुनिक कृषितर्फ खोज अनुसन्धान गर्न पनि उत्प्रेरित गरोस् भनेर मैले यो खेती थालेको हुँ । रनभुल्लमा परेका नेपाली किसानलाई स्पष्ट दिशाबोध गर्ने मेरो उद्देश्य हो ।’
तस्बिर:-