नवलपुर जिल्लाका सामुदायिक बिजय एफएम नेपाल कै उत्कृष्ट, नेपाली सेनाद्वारा पुरस्कृत - MONGOL KHABAR

Breaking

नवलपुर जिल्लाका सामुदायिक बिजय एफएम नेपाल कै उत्कृष्ट, नेपाली सेनाद्वारा पुरस्कृत

गैडाकोट, १ मंसिर । नेपाली सेनाले नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम १०१ दशमलव ६ मेघाहर्जलाई आज सम्मान गरेको छ । नेपाली सेनाले आज नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर कावासोतीमा संचालन गरेको नागरिक सैनिक अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको हो ।
कार्यक्रममा एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायलाई महासेनानी इश्वर कुमार श्रेष्ठले कदर पत्रबाट सम्मान गर्नुभएको हो । नेपाली सेनाले राष्ट्र र नेपाली नागरिकको हित र सुरक्षाका लागि गरिरहेका समग्र कार्यहरुका बारेमा सु–सूचित गराउन रेडियोले खेलेको भूमिकालाई उच्च मूलयाङ्कन गरि सम्मान गरिएको महा सेनानी ईश्वर कुमार श्रेष्ठले बताउनुभयो । एफएमले हरेक हप्ताको सोमवार ‘नेपाली सैनिक’ नामक कार्यक्रम प्रशारण गर्दै श्रोतालाई नेपाली सेनाका विकास निर्माण, स्वास्थ्य शिक्षा लगायत राष्ट्र र राष्ट्रियताका लागि गरेका गतिविधि प्रशारण गर्दै आएको छ ।
नवलपुर जिल्ला भरका पत्रकार, नागरिक समाज,भूपु सैनिक,विद्यार्थी युवाहरुवीच भएको अन्तरक्रियामा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई महासेनानी श्रेष्ठले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले सेनाले गरेका कार्यहरु पं्रशासायोग्य रहेको र अव गाउँ केन्द्रीत हुन आवश्यक रहेको सुझाव दिनुभयो । प्रेस युनियनका केन्द्रीय सदस्य केवी रानाले राष्ट्रियताको भाव जसरी नेपाली सेनामा छ त्यो भाव जनतासमक्ष पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार खगराज सापकोटा,शालिकराम कोइराला,शिक्षिका चन्दा न्यौपाने लगायतले हालसम्म भएका कार्यहरुको प्रशंसा गर्दै त्यसको दायरा बढाउँदै जान सुझाव दिनुभएको थियो । सेनाले वारा पर्सामा निर्माण सम्पन्न गरेको जनता आवास कार्यक्रमको भिडियो प्रदर्शनी गरिएको थियो भने लघु चलचित्र देखाइएको थियो ।
कार्यक्रममा महासेनानी श्रेष्ठ सहित नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण प्रमुख सेनानी शारदाभक्त मटांगुलु, भगवती प्रसाद गुल्मका गुल्मपति सेनानी अमित लामा, प्रमुख सेनानी प्रधुम्न पौडेल, सेनानी रविन कुमार अधिकारी, सेनानी प्रचण्ड शाह लगायतको कार्यक्रममा उपस्थिती थियो भने सोधिएका जिज्ञासाको समाधान गर्नुभएको थियो । विजय एफएमसँगै रेडियो कावासोती  पनि सम्मानीत भएको छ । नेपाली सेनाले जनतासँगको सामिप्यता नजिक राख्न विभिन्न ठाउँहरुमा अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आइरहेको सेनानी रविन कुमार अधिकारीले जानकारी दिनुभयो ।