धरान उपमहानगरपालिमा नेपाली कांग्रेसका तिलक राई अगाडि - MONGOL KHABAR

Breaking

धरान उपमहानगरपालिमा नेपाली कांग्रेसका तिलक राई अगाडि

धरान ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिमा नेपाली कांग्रेस अगाडि निस्किएको छ ।  मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्। धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका थिए । वडाको लेखनाथ चौक, समि चौक, पुल चौक, गणेशमान चौक जस्ता दुई दर्जन भन्दा बढि टोलबासीले कम्युनिष्टका नेताहरुले धरानलाई कुरुप बनाएकाले नेपाली कांग्रेसलाई एक पटक हराबरा बनाउन सक्छन कि भनेर मौका स्वरुप भोट दिने स्थानीयहरुको तर्क थियो ।
हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ। वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एकवर्ष अघि मिर्गौला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै  लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम(लिम्बू)लाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको छ । साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।