काठमाडौं । पौष ९ बुधबार, समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारी स्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमत गुमाएको छ । समाजवादीका एक नेताका अनुसार पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे केही बोलेको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यस लगत्तै मंगलबार उपप्रम यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
पार्टीको आगामी रणनीति बारेमा समाजवादीले सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बुधबार दिउँसो पत्रकार सम्मेलनको तयारी गरेको छ । समाजवादीसँग संघीय संसदमा १७ सांसद रहेका छन् ।