देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित् - MONGOL KHABAR

Breaking

देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित्

काठमाडौं । मातृभाषामा शिक्षालाई प्रभावकारी ढंगमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित् देशभरका शिक्षकहरु संगठित् भएका छन् ।
विद्यालय तहमा संविधानले निर्दिष्ट गरेबमोजिम मातृभाषामा सहज ढंगबाट शिक्षा उपलब्ध गराउने हेतुका साथ देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित् भएका हुन् ।
काठमाडौंस्थित् नयाँ बानेश्वरमा भएको भेलाले खड्ग बहादुर लामा अध्यक्ष रहने गरी तदर्थ समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा अञ्जु लामा र दिपक तुलाधार छन् । त्यसैगरी महासंघको सचिवमा चेत कुमार लामा, सह–सचिवमा लाक्पा तामाङ र कोषाध्यक्षमा प्रेम लामा छानिएका छन् ।
महासंघले सातै प्रदेशका इन्चार्ज तथा संयोजकहरु समेत छानेको छ । भेलाले प्रदेश नम्बर १ को इन्चार्ज÷संयोजकमा हरिचन्द्र लावती, २ मा जनार्दनलाल दास, बागमती प्रदेशमा सुकमान बमजन, गण्डकी प्रदेशमा केयर सिं गुरुङ, प्रदेश ५ मा सवुर्णमान चौधरी, कर्णाली प्रदेशमा मान बहादुर मगर र सुदुरपश्चिम प्रदेशमा गीता जोशी छानिएका छन् ।
सबै प्रदेशका इन्चार्ज एवं संयोजकहरुलाई सम्बन्धित प्रदेशभित्र महासंघ विस्तार गर्न जिम्मेवारी प्रदान गरिएको महासंघका अध्यक्ष खड्ग लामाले जानकारी दिए । महासंघको विस्तारित् पहिलो बैठक चाँडै बोलाउने समेत उनले बताए ।
महासंघले बाँकी केन्द्रीय सदस्यहरु पहिलो बैठकबाट मनोनित् गर्ने समेत लामाले बताए ।
त्यसैगरी महासंघको सल्लाहकार समेत चयन भएको छ । जसअनुसार महासंघको सल्लाकारमा भाषाविद् अमृत योञ्जन, मातृभाषा विज्ञ डा. लोकबहादुर लोप्चन, प्रशिक्षण विज्ञ लोकबहादुर वाईबा र पत्रकार बुद्ध लोप्चन छानिएका छन् । महासंघले आवश्यक परामर्शको आधारमा अन्य विज्ञहरुलाई सल्लाहकारमा मनोनित गर्ने समेत जनाएको छ ।