कावासोती । फाल्गुन २५ आइतबार, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको कोल्हुवामा प्रहरीको गोली लागि एक जना गम्भीर घाइते भएका छन् । प्रहरीले गोली चलाई अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मुना महतो र सुरज महतो छन् ।
मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोलाई गोली लागेको हो । पेट र खुट्टामा गोली लागेको महतोको अवस्था चिन्ताजनक रहेको छ । महतोको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
एसपी दिपक रेग्मीले शनिबार राति ड्युटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले होहल्ला गरी प्रहरीलाई हातपात गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको नवलपुर एफएमलाई बताए ।
