नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुलो सभा, सम्मेलन र भोज भतेरको आयोजना नगर्न आह्वान - MONGOL KHABAR

Breaking

नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुलो सभा, सम्मेलन र भोज भतेरको आयोजना नगर्न आह्वान

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुलो सभा, सम्मेलन र भोज भतेरको आयोजना नगर्न आह्वान गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभत्त ढकालले काठमाडौंमा पत्रकार सम्मेलन गरी धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अपिल गरेका हुन् ।

चीनको हुवानबाट फैलिएको कोरोना भाइरसले चीनमा करिब ३ हजार जनाको ज्यान गइसकेको छ । उक्त भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिएको छ । र मानिसहरु मर्ने क्रम जारी छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसबाट अति उच्च जोखिममा रहेको जनाएको छ ।
हाल नेपाल सरकारले पनि कोरोना भाइरसबाट सचेत हुँदै गएको छ ।

मन्त्री ढकालले आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत बन्द गरिने पत्रकार सम्मेलनमा बताए । विमानस्थल पुरै बन्द गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको उनले बताए । उनले संक्रमितलाई राख्नका लागि बेडको व्यवस्था समेत गरिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेशिन राखिनेछ ।

मन्त्री ढकालले भने, ‘छिमेकी देशहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्नेबारे छलफल गरिरहेका छौ ।’