हिरा लुट्पाटको आरोपमा तीन प्रहरी र एक पत्रकार पक्राउ - MONGOL KHABAR

Breaking

हिरा लुट्पाटको आरोपमा तीन प्रहरी र एक पत्रकार पक्राउ

मकवानपुर । चैत्र १० सोमबार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न तीन जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत विरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका - ५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । लुटिएको खबर पछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा मकवानपुर प्रहरीले जानकारी दिइएको छ ।

प्रहरीले उनीहरूको साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।