जगत ठाडा मगर
नवलपुर । जेष्ठ ७ बुधबार, काठमाण्डौमा स्वाव परीक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएकी नवलपुरको देबचुली नगरपालिका माईत भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङका आधारमा माईती घरमा उनको सम्पर्कमा रहेकाहरुको स्वाव आजबाट संकलन हुन थालेको छ ।
सिजी उद्योग नजिक देबचुली नगरपालिका २ मा माईती भएकी ती महिला गत बैशख १९ गते आफ्नो स्थायी घर रुपन्देहीबाट माईत बसी २९ गते काठमाण्डौ गएको खुलेको छ । सोही आधारमा १० दिन माईती घर बसाईका क्रममा उनीसँग सम्पर्कमा आएका परिवार लगायत अन्य छिमेकीको समेत स्वाव परीक्षण गर्नुपर्ने भएकाले संकलन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले मंगोल खबरलाई जानकारी दिनुभयो ।
अहिले देबचुली नगरपालिकाको सोहि क्षेत्रलाई पूर्ण रुपमा शिल गरिएको छ । वहाँले अहिले यस क्षेत्रमा स्थानीयलाई उच्च सतर्कमा रहन र आफूलाई सुरक्षित राख्न पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।
