काठमाडौ । असार १६ मंगलबार, यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेबपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नु पर्ने भएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए ।
“त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यस अनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नु पर्नेछ । नयाँ पाठ्यक्रम अनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।
यस अघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीन वटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षा समेत दिन पाउने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
