ललितपुर खोकनाका मुलबासी र विकास बीचको द्वन्द्व चर्क्यो - MONGOL KHABAR

Breaking

ललितपुर खोकनाका मुलबासी र विकास बीचको द्वन्द्व चर्क्यो

ललितपुर  । असार २१ आइतबार, शनिबार ललितपुरको पुरानो गाउँ खोकनाका बासिन्दा आफूले परम्परा देखि कमाइ आएको आफ्नै स्वामित्ववाला खेत रोप्न गए । प्रहरी आयो र उनीहरूलाई खेतबाट लखेट्यो । त्यस क्रममा राज्यका प्रतिनिधिका रूपमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो ।

ठूलो संख्यामा तैनाथ प्रहरीलाई स्थानीय बासिन्दाले आफ्नो शक्तिले भ्याए सम्म प्रतिरोध गरे । राज्य उनीहरूको भूमि खोसेर काठमाडौंलाई तराई सँग जोड्ने द्रुतमार्ग निर्माण गर्न चाहन्छ । योजना लागू भयो भने त्यहीँ भएर जानेछ, प्रस्तावित बाहिरी चक्रपथ र मातातीर्थ भक्तपुर १३२ केभी प्रसारण लाइन पनि । यता खोकनावासी भने भूमिसँग गाँसिएको आफ्नो आदिम संस्कृतिको आधार भत्किने भयले त्यसलाई जोगाउन प्रयत्न शील छन् । यस्तो प्रयत्न कहिले माइतीघर मण्डलामा जुलुसका रूपमा र कहिले सभा या अरू सार्वजनिक कार्यक्रममा गरिरहेका छन ।

केही समय पहिले सामाजिक सञ्जालमा खोकनावासी सँग संवाद गर्न नेवाःभाषा बुझ्ने प्रहरी चाहिन्छ भन्ने भनाइ चर्चामा थियो । यसको अर्थ हुन्छ, खोकनावासी संगठित र योजनाबद्ध रूपमा आफ्नोे संस्कृति र भूमि बचाउन लागिपरेका छन् । यस घटनाले राज्यले देख्ने विकासको चरित्र र स्थानीय नेवार मुलबासी समुदायले खोज्ने विकास बीच रहेको संघर्षलाई अभिव्यक्त गरेको छ ।

ठूलो आकारको भूमि गुमाउनु पर्दा स्थानीय समुदायले व्यहोर्नु पर्ने आर्थिक क्षतिको अल्पकालीन र दीर्घकालीन प्रभावका असर पनि आन्दोलनमा भिन्न ढंगले अवश्य पनि मिसिएको छ । तर, मूल प्रश्न भने राज्य कसरी मुलबासी मूल्य र स्रोतलाई उनीहरूको स्वीकृति विना प्रयोग गर्न दमनका हतियार लिएर उत्रन्छ
भन्ने नै हो ।

खोकनाका मुलवासीको आवाज सुन । विकल्पबारे स्थानीयवासीसँग संवाद गर । दमनले समस्या चर्काउँछ, हल गर्दैन ।

यस्तो संघर्ष सधैँ र धेरै ठाउँमा देखिने गर्छ । कलंकी-नागढुंगा होस् या चावहिल–साँखु सडक विस्तार, स्थानीय मुलबासी बासिन्दा र राज्यबीच संघर्ष भएकाले पनि समयमा सक्न सकस परेको थियो । विभिन्न विकास आयोजनाको सञ्चालनमा अहिले सबैभन्दा ठूलो चुनौती नै जमिन अधिग्रहण सम्बन्धी झमेला हुने गरेको छ । तर, खोकनाका स्थानी नेवार मुलबासी बासिन्दाको भिन्न चिन्ता छ । उनीहरू पैसामा आफ्नो भूमि र संस्कृति बेच्न नचाहने भएकैले अहिलेको संघर्षको अवस्था सिर्जना भएको हो ।

यहीँनेर राज्यले उनीहरूसँग पर्याप्त संवाद किन गरेन ? किन नेवार मुलबासीहरूका चासो गम्भीरतापूर्वक सुनिएनन् ? भन्ने प्रश्न उठ्छ । राज्य शक्तिमा रहनेको विचारधारा र मुलबासी मूल्यबीच हुने विपरीत धारणा, राज्य शक्तिमा मुलबासीको पहुँच र प्रभाव कम हुनुले यो संघर्षको अवस्था सिर्जना भएको हो ।

राज्यको दायित्व हुन्छ कि उसले देशभित्र विद्यमान संस्कृति र परम्पराका असल पक्षको निरन्तर संरक्षण गरोस्, देशलाई सांस्कृतिक दृष्टिले बहुलतायुक्त र सम्पन्न बनाओस् । त्यसका लागि विभिन्न जाति, भाषा, संस्कृतिमा रहेका परम्परागत मूल्य नष्ट या विलोप हुने गरी कुनै पनि खालका भौतिक निर्माणका कार्यक्रम अघि बढाइनु हुँदैन । खोकनाका नेवार मुलवासीको आवाज सुन । विकल्पबारे स्थानीयवासीसँग संवाद गर । दमनले समस्या चर्काउँछ, हल गर्दैन ।