झण्डा काण्ड र मुलबासी मंगोलबारे गोपाल किराँतीको अपुर्णता भनाई - MONGOL KHABAR

Breaking

झण्डा काण्ड र मुलबासी मंगोलबारे गोपाल किराँतीको अपुर्णता भनाई


जगत ठाडा मगर
काठमाडौ । भदौं १३ शनिबार, मकवानपुरका ग्याल्जेन दोर्जे तामाङ समूहले गीत छाँयाङ्कनमा झण्डा जलाएको र त्यसबारे विभिन्न प्रतिकृयाको क्रममा सामाजिक सञ्जालमा हामीले लेख्यौं-“नेपालमा झण्डाको प्रश्न संबिधानको वैज्ञानिक समाजवादी पुनर्लेखनले मात्र निरुपण गर्छ ।” अझ चर्चा बढ्दै गयो तथा त्यस कारबाहीको औपचारिक जिम्मा नलिए पनि मंगोल नेशनल अर्गनाइजेशनका भनाईहरु सञ्चार सतहमा थपिए । क्रमश: पार्टी पंतिकै कमरेडहरुले उपरोक्त घटना वारे ब्याख्या सहित लेख्न अनुरोध भएको हुँदा एक माओवादी कम्युनिस्टको दृष्टिकोणबाट आफूलाई जानकारी रहेको आधारमा यो सामग्री प्रस्तुत गरिन्छ ।

मंगोल के हो ?
उत्तर छिमेकी चीन र रुसको वीचमा अवस्थित मंगोलिया देशका नागरिकको निम्ति “मंगोल” एक स्वतन्त्र राष्ट्रियता हो । त्यसबाहेक मुलुकका निम्ति “मंगोल पहिचान” केवल वर्ण-आकृति वा मानवीय ढाँचा हो । जानकारी अनुसार सन् १९५२ मा आयोजित उनेस्को सम्मेलनले विश्वका मानव समुदायको वर्ण पहिचान गर्दा जसलाई आज मंगोल भनिन्छ । त्यस आकृति अथवा ढाँचाका मानव समूहलाई “मंगोल” नामाकरण गर्यो ।

त्यस सँगै ककेशस, निग्रो हुँदै ड्रबिड-अष्ट्रो ड्रबिडहरु नामाकरण गरिए । यदपि, चीनमा माओत्सेतुङ नेतृत्वमा भीषण कम्युनिस्ट क्रान्तिले सफलता हासिल गरिरहेको बेला माओ आकृतिका मानिसलाई मंगोल नामाकरण गर्नुमा पश्चिमाहरुको षडयन्त्र रहेको बताइन्छ । उनेस्काे सम्मेलनमा त्यसबेला निश्चय नै पश्चिमा मानव शास्त्रीहरुको एकाधिकार थियो । मंगोलियाका चंगेज खाँ र कुब्लाई खाँको भयानक आक्रमणकारी ब्यवहारबाट मंगोल आकृतिका मानिसलाई पश्चिमाहरु राक्षस ठान्दथे । अत: कम्युनिस्ट माओ आकृतिलाई राक्षेशीकरण गरी युरोप तथा अमेरिकामा माओवादप्रति घृणा फैल्याउने नियतले युनेस्को सम्मेलनले माओ आकृतिलाई मंगोल नामाकरण गर्न पुगेको बताइन्छ ।

परन्तु, अफ्रिकी मुलुक नाईजेरिया सम्बद्व निग्रो, ककेशिया पहाड सम्बद्व ककेशस तथा दक्षिण भारतको ड्रबिड सभ्यता सम्बद्व ड्रबिड नामाकरण जस्तै मंगोलिया सम्बद्व मानव आकृतिलाई मंगोल नामाकरणमा अन्यथा लिनु पर्दैन । आर्य समूह ककेशस कै शाखा हो भने अष्ट्रो-ड्रबिडको सम्बन्धमा कुनै समय भारत र अष्ट्रेलियाको भूभाग एउटै रहेको, अन्तत: सो भूभाग बिच्छिन्नताको परिस्थितिमा ड्रबिड समुह भारत र अष्ट्रेलियामा विभाजित हुन पुगेको अवस्थामा ड्रबिड समुहलाई नै “अष्ट्रो-ड्रबिड” मानिएको छ ।

यसरी मंगोलिया देशका नागरिक बाहेक युनेस्को सम्मेलनको परिभाषामा मंगोल कुनै जातीय, भाषिक वा साँस्कृतिक समुदाय नभएर केवल विश्वको एक मानव ढाँचा-आकृति, स्वरुप अथवा वर्ण हो । नागरिकताको प्रमाणपत्रमा जसरी बर्ण उल्लेख गरिन्छ: कालो, गोरो, गहुँ गोरो ईत्यादि । वस्तुत: मंगोल पहिचान बर्णको अर्थमा प्रयुक्त छ । तब सन १९५२ उप्रान्तका साहित्यमा मात्र मंगोल उल्लेख हुन पुगेको छ ।

नेपालमा मंगोल नामको राजनीति

युनेस्को परिभाषित बर्णका आधारमा नेपालमा ड्रबिड, मंगोल तथा ककेशस-आर्यको उपस्थिति रहँदै आएको छ । यस मध्ये पृथ्बीनारायण शाहयता राज्यसत्तामा आर्य-खसको निरन्तर एकाधिकार थोपरिएको छ । राणा जंगबहादुरको चरम जातवादी मुलुकी ऐन, महेन्द्र शाहको हिन्दु राज्य हुँदै नामधारी कम्युनिस्ट खड्ग ओलीसम्म आउँदा मंगोल तथा ड्रबिड वर्ण- समूहका मानिस सामुदायिक रुपमा उत्पीडित बन्न बाध्य छन् ।

यसरी विस २०३७ को जनमत संग्रहताका खगेन्द्रजंग गुरुङले मंगोल अभियान सञ्चालन गरेका थिए भने त्यस लगत्तै डाक्टर गोपाल गुरुङ उक्त अभियानमा लागे । २०४६ वरपर गोपाल गुरुङले मंगोल नेशनल अर्गनाइजेशन गठन गरे । माओवादी आन्दोलनले उठान तथा अन्तरिम संविधान- ०६३ ले ब्यवस्था गरेको वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, धार्मिक पहिचान र अधिकार सहितको वैज्ञानिक राज्य पुन:संरचना गर्न नदिने मुख्यत: गोर्खाली अन्धराष्ट्रवादी उत्पीडनकै पृष्ठभूमिमा मंगोल लगायत समूहरुले विद्रोहको आवाज बोल्दैछन् । कम्युनिस्ट माओ आकृतिलाई राक्षेशीकरण गरी युरोप तथा अमेरिकामा माओवाद प्रति घृणा फैल्याउने नियतले युनेस्को सम्मेलनले माओ आकृतिलाई मंगोल नामाकरण गर्न पुगेको बताइन्छ ।

बाह्य आक्रमण र उत्पीडन प्रतिरोधक्रममा राष्ट्रवादको जन्म हुन्छ भन्ने मान्यता अनुसार पहाडिया अहंकारवाद बिरुद्ध मधेस, हिन्दु आर्य अहंकारवाद बिरुद्ध आदिवासी जनजाति वा मंगोल जस्ता राष्ट्रवाद निर्माणका प्रतिरोधी आवाजहरु बुलन्द हुन खोजेका छन् । नेपालको ऐतिहासिक सत्ता संरचनामा गोर्खाली अन्धराष्ट्रवादी उत्पीडन बिरुद्ध मंगोल, मधेसी, दलित, जनजाति ईत्यादि नाममा दल दर्ताको संबैधानिक अधिकार एवं ती नामहरुबाट राज्यसत्ताको राजनीति गर्न पाउने स्वतन्त्रता माओवादी आन्दोलनको देन हो । परन्तु, द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोणका माओवादी कम्युनिस्टहरु सर्वहारावर्गीय नेतृत्वमा उत्पीडित समुदायको मुक्ति खोज्दछन् ।

मंगोल अर्गनाइजेशनको वर्ग दृष्टिकोण र राजनीतिक चरित्र

सबै खाले अन्याय र उत्पीडन बिरुद्दको संघर्षलाई कम्युनिस्ट क्रान्तिकारीहरु प्रगतिशील ठान्दछन् । त्यसर्थमा गोर्खाली अन्धराष्ट्रवादी उत्पीडन बिरुद्दको संघर्ष स्वत: प्रगतिशील ठहर्छ । परन्तु, डाक्टर गोपाल गुरुङ आरोपित मंगोल नेशनल अर्गनाइजेशनको विश्वदृष्टिकोण मध्ययुगीन अध्यात्मवाद हुँदै पुजीवादी आदर्शवादमा कुण्ठित छ र त्यसको राजनीतिक चरित्र जातीय प्रतिशोधभावमा आधारित दलाल तथा नोकरशाही पुजीवादी छ ।

त्यसैले हामीले कहिल्यै त्यसको समर्थन गर्न सकेनौं । हेक्का रहोस कि गोपाल गुरुङ्को मंगोल नेशनल अर्गनाइजेशन जुन स्तरमा बाहुन-क्षेत्री प्रति घृणा ओकल्छ, ठिक त्यही बराबर माओवादी कम्युनिस्ट प्रति घृणाभाव राख्दछ । त्यसले स्पष्ट गर्छ, त्यो विचार दृष्टिकोण र चरित्रले राज्यसत्ता लियो भने पुजीवादी बाहुन-क्षेत्रीसंग सम्झौता गर्नेछ र माओवादी कम्युनिस्ट सखाप अभियान सञ्चालन गर्नेछ ।

डा-गोपाल गुरुङ केन्द्रीकृत मंगोल नेशनल अर्गनाइजेशनको संस्कृति मुढाग्रही छ । त्यसैले त्यसले आदिवासी जनजाति शब्द प्रति अनावश्यक प्रहार गर्छ र पहाडी मूलका आदिवासीहरु सबैलाई मंगोल बन्न ऊर्दी चलाउँछ । जरा पहिल्याउदै जाँदा मंगोल अर्गनाइजेशनको उक्त संस्कृति मुसोलिनीको फासिवाद तथा हिटलरको नाजीवादसंग जोडिन्छ । जुन, दुनियाँबाट खारेज भइसकेको घोर मानवता बिरोधी अविज्ञान थियो । त्यसैले राज्य ब्यवस्था र शासन ब्यवस्था बदल्ने समाजवादी क्रान्ति छाडेर नेपालमा को पहिला आयो र को पछि आयो, भन्ने प्रश्नले कुनै अर्थ राख्दैन । वैचारिक-राजनीतिककर्मीको दायित्व वर्तमानको न्यायपूर्ण ब्यवस्थापनमा केन्द्रीत हुने हो ।

माओवादी कम्युनिस्ट दृष्टिकोणको कुरा
माओवादी कम्युनिस्टहरु प्रत्येक वस्तु र घटनालाई एकको दुईमा विभाजन गरेर हेर्छन । अत: मंगोल, थारु, मधेसी, मुस्लिम, दलित, जनजाति, महिला संगै मजदुर-किसान एवं देशभक्त पुजीपतिको न्यायपूर्ण विद्रोहलाई समर्थन गर्दै निर्णायक जनविद्रोहको तहमा संगठित गर्नु पर्छ । तर, साम्राज्यवादी तथा विस्तारवादी र दलाल पुजीवादी घुसपैठ अथवा कोन्ट्रा मण्डले प्रवृत्तिको भण्डाफोर गर्नु पर्छ । वैज्ञानिक समाधानमा राज्यसत्तामा थोपरिएको दलाल तथा नोकरशाही पुजीवाद र गोर्खाली अन्धराष्ट्रवाद बिरुद्व महान जनविद्रोह आयोजना गर्नु पर्छ र समाजवादी निर्वाचन प्रणालीको आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण गर्नु पर्छ ।

पृथ्बीमा मानिस जन्मदा उसले कुनै देश, वर्ण, जाति, भाषा- संस्कृतिको आमाको कोख रोजेर जन्मेको हुँदैन । अत:जन्मले होइन, चिन्तन र कर्मले मानिसको भूमिका निर्धारण गर्छ र यस दृष्टिकोणतर्फ सर्वत्र प्रेरित गर्नु पर्छ । यही हो, मानवीय समानता, स्वतन्त्रता र बन्धुभावको संस्कृति अर्थात साम्यवादी दृष्टिकोण । त्यस्तै, ग्याल्जेन दोर्जे तामाङ्ले झण्डा जलाएको प्रकरण राजनीतिक रुपमा विद्रोह हो । भने प्रशासनिक रुपमा कशुर देखिन्छ । प्रत्येक देशमा क्रान्ति पछि देशको झण्डा परिवर्तन गर्दछन् ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका क्रान्तिहरुले त झन समग्र नयाँ निर्माण गरेका छन । चीनमा माओले पाँच बहुसंख्यक जातिको प्रतीक पाँच कोणको ठूलो तारा र पचास अल्पसंख्यक जातिको अनेक सानो तारा भएको राष्ट्रिय झण्डा गरे । त्यसरी त्यहाँ समाजवादी राष्ट्रीय एकीकरण गरियो । नेपालमा त्यस्तो क्रान्ति जारी छ र नै हामीले झण्डाको प्रश्न वैज्ञानिक समाजवादी क्रान्तिले निरुपण गर्छ, भनेर लेख्यौं ।

तामाङ समुदाय नेपालमा ठूलो जनसंख्या हुँदा हुँदै पनि ऐतिहासिक जीवनमा पशुतुल्य अपमान र उत्पीडन भोग्न बाध्य समुदाय हो । तसर्थ कम्युनिस्टहरुले उत्पीडन बिरुद्द राजनीतिक विद्रोहमा तामाङ जनताको तरफदारी गर्नु पर्छ । र, समग्र मानव मुक्तिको विचारमा उठाउन वैचारिक-साँस्कृतिक नेतृत्व दिन सक्नु पर्छ । युवा ग्याल्जेन दोर्जेको संघर्षले उत्पीडित जातिका साथ साथै श्रमिकवरर्गीय मुक्ति आन्दोलनको सेवा गर्न सकोस्, भन्ने कामना गर्नु पर्छ । झण्डा लगायत नेपाली अर्थ-राजनीतिक प्रणाली, सत्ता संरचना, टिष्टा-कांगडा फिर्ता सहित देशभक्त जनआन्दोलन जारी रहेको पृष्ठभूमिमा विध्यमान प्रशासनिक कशुर भने सामना गर्नै पर्छ ।
गोपाल किरातीकाे फेसबुकबाट