श्रमिककाे तलब बढायो कतारले साथै काफला खारेज, न्यूनतम तलब नयाँ कानुन अनुसार लागू गर्ने - MONGOL KHABAR

Breaking

श्रमिककाे तलब बढायो कतारले साथै काफला खारेज, न्यूनतम तलब नयाँ कानुन अनुसार लागू गर्ने


काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड १९) महामारी पछि श्रमिकको अभाव झेल्न थालेको कतारले मजदुर तथा घरेलु कामदारको न्यूनतम पारिश्रमिक सम्बन्धी नयाँ कानुन ल्याएको छ । मानव अधिकारवादी समूहहरुले लामो समय देखि काफला प्रणालीको आलोचना गर्दै आएका थिए । 


काफला के हो ?

काफला रोजगार प्रणाली अन्तर्गत श्रमिकहरुले आफूले गरिरहेको काम परिवर्तन गर्न पाउँदैनथे र उनीहरुका लागि रोजगारमा छनौटको विकल्प रहँदैनथ्यो । अब भने श्रमिकहरुले करार समाप्त हुनु अगावै पनि काम गरिरहेको कम्पनीको स्वीकृति बिना रोजगार परिवर्तन गर्न पाउने अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ ।


यसबाट कतारमा काम गर्ने नेपाली श्रमिकहरु समेत लाभान्वित हुने भएका छन् । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले आइतबार २०२० को १७ नं कानुन जारी गरेका हुन् ।


आईएलओका अनुसार कतारले श्रमिकका लागि न्यूनतम मासिक पारिश्रमिक एक हजार कतारी रियाल तय गरेको छ । देशको राजपत्रमा प्रकाशित भएको ६ महिना भित्र यो कानुन लागू हुनेछ ।


नयाँ नियम अनुसार कम्पनीहरुले न्यूनतम पारिश्रमिक सहित श्रमिकहरुलाई बस्ने खाने भत्ता अलग्गै उपलब्ध गराउनु पर्नेछ । कामदारलाई आवासका लागि न्यूनतम मासिक ५०० र खानाका लागि ३०० कतारी रियल दिनुपर्ने व्यवस्था गरिएको छ ।


मानवअधिकार समूह एमनेस्टि इन्टरनेशनलले यो निर्णयको स्वागत गरेको छ । तर अझै पनि इलिगल कामदार विरुद्ध आपराधिक मुद्दा दर्ता गराउन सक्ने व्यवस्था कायमै राखेको छ । त्यसैले विना स्विकृति काम छाड्ने कर्मचारीहरुका लागि अड्चन अझै बाँकी नै रहेको एमनेष्टि इन्टरनेशनलले जनाएको छ ।


कतारले सन् २०१८ मै कफालालाई आंंशिक रुपमा हटाएको थियो । कफाला अन्तर्गत कतारमा काम गर्ने सबै विदेशी कामदारलाई एउटा स्थानीय प्रायोजक आवश्यक हुन्छ । श्रमिकले काम परिवर्तन गर्न चाहेमा प्रायोजकसँग अनुमति लिनुपर्छ । यतिमात्र होइन कतारले आफ्नो देश छोड्नु पर्दा समेत आफ्नो मालिक या कम्पनीको स्विकृति लिनु जरुरी थियो ।


कतारमा अहिले निर्माणको क्षेत्रमा तिव्रता आएको छ । अन्य खाडी देशहरु जस्तै कतार पनि लाखौं विदेशी कामदारमा निर्भर छ । यस्ता कामदारहरु अधिकांश भारत, नेपाल, पाकिस्तान र बांग्लादेशका छन् ।


कतारले सन् २०२२ मा फिफा वल्डकप आयोजना गर्दैछ । त्यसैले पनि श्रम सम्बन्धी यो सुधार गर्न उसलाई जरुरी थियो । अरब प्रायद्वीपमा फिफा वल्र्डकपको आयोजनाका कारण पश्चिमा देशहरुले कतारमा मानव अधिकार हननको मुद्दा जोडतोडले उठाइरहेका छन् ।