गोल्डेन इगल मेनपावर काठमाडौबाट साउदी पुगेका २३ जना नेपाली कामदार चार महिनादेखि अलपत्र - MONGOL KHABAR

Breaking

गोल्डेन इगल मेनपावर काठमाडौबाट साउदी पुगेका २३ जना नेपाली कामदार चार महिनादेखि अलपत्र

मंगोल खबर संबाददाता
काठमाडौ । काठमाडौँको भीमसेनगोला स्थित गोल्डेन इगल मेनपावर मार्फत साउदी पुगेका २३ जना नेपाली कामदार ४ महिनादेखि अलपत्र अवस्थामा पुगेका छन ।
कम्पनी बन्द भएपछि अलपत्र अवस्थामा पुगेको पीडित दोलखाका भीमकुमार थामीले बताएका छन् । आफुहरु मेनपावर कम्पनीलाई जनही १ लाख २० हजार रुपैयाँ तिरेर साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर साउदी पुगेको तर साउदी आइपुगे पछि नास ट्रस्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको थियो । जेनतेन काम गरेर खाने खर्च मात्रै भएपनि कम्पनीले दिदैँ आएको तर कम्पनी नै बन्द भएपछि आफुहरु विचल्लीमा परेको थामीले बताए ।

पीडितहरुले सरकारले तोकेभन्दा बढी पैसा मेनपावर कम्पनीले लिएको भन्दै आफूहरुले पहिले सोध्दा राम्रो काम र राम्रो तलब हुने भएकाले बढी लाग्ने भनेपछि सबैले १ लाख २० हजार रुपैयाँ तिरेको र विश्वासका आधारमा काम गर्नुपर्छ भने पछि आफुहरु सोहि विश्वासमा परेको तर मेनपावरले धोका दिएको बताएका छन् ।

कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको र कम्पनीमा कार्यरत कामदारले नेपालबाट आउँदा तोकिएको तलब लगायत अन्य कुनै पनि सेवा सुविधा नपाएको गुनासो समेत गरेका छन् ।

समस्यामा परे पछि मेनपावरलाई खबर गरे पनि कुनै सुनुवाइ नभएको र आफुहरुको अवस्था झन झन जटिल बन्दै गएकोले आफुहरु उद्धारको पर्खाइमा रहेको र छिटो उद्दार गर्न पिडितहरुले अनुरोध गरेका छन् ।

अलपत्र उनीहरुको सहयोगका लागि हाल एनआरएनएले भूमिका खेलिरहेको छ । एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालका अनुसार पीडितहरु रहेको कम्पनीमा ३५ जना नेपाली बिना काम बिना तलब भएर बसेको पाइएको बताएका छन् र समस्या समाधान गर्न साउदीस्थित नेपाली दूतावाससँग पनि बारम्बार समन्वय गरिरहेको उनले जानकारी दिएका छन् ।