जोहन चाम्लिङ :- राष्ट्रको अबिभाबक उखान टुक्के, जनताको ढुकुटी स्वाह जनतामुखी अभिभावक पाएन - MONGOL KHABAR

Breaking

जोहन चाम्लिङ :- राष्ट्रको अबिभाबक उखान टुक्के, जनताको ढुकुटी स्वाह जनतामुखी अभिभावक पाएन

काठमाडौ । मुलुकको राजनीतिक खिचातानीले हाम्रो देश एक शताब्दी पछाडि परिसकेको छ । अहिले पनि हजुरबा पुस्ताका परिवर्तन शब्दकोष परिबर्तन भएर कामरेडको शब्दकोषमा (छालाङ) बाहेक अरूतिर सम्भव नभएको देखिन्छ । 


२००७ सालदेखिका हरेक परीक्षामा असफल भएर परीक्षा आफू अनुकूल बनाएर ल्याएको नतिजा अनुसार अगाडि बढ्न नसक्ने व्यक्तिले आफू र परिवार, नातागोता र आफु अनुकुलका केही व्यक्ति बाहेक समाज र देशलाई सफल बनाउन सक्दैन । जसरी पनि भ्रष्टाचार गर्नै पर्छ भन्ने चिन्तनद्वारा अभिप्रेरित राजनीतिज्ञहरु र संसदीय व्यवस्था प्रति जनता आजित भइसकेका छन् ।

सरकारको कामकारबाहीले झन् जनतामा संसदवादी दलहरूप्रति अविश्वास र वितृष्णा पैदा गराएको छ । आज जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य बस्तुहरूको मूल्य अकासिएको छ । जताततै कालोबजारीले स्थान लिएको छ । कमिसनखोर, भ्रष्टाचारी, दलाल-नेताहरूले हाम्रो भविष्य बनाइ दिन्छन् भन्ने आशामा निरीह भएर जनता बस्नु परेको छ ।

विश्वमा काम नलागेका वस्तु हाम्रो देशमा प्रयोगको शृंखला बड्दो छ । दक्षिणी मुलुकबाट अरूतिरको रोगी निको पार्न नसकेका औषधीको व्यापारिक थलो हाम्रो मुलुकको बजार बन्ने गरेको छ । विषैविषले भरिएका तरकारी अर्धकुइएको फलफूल सीमा नाघेर हाम्रो पेटमा पुग्ने हैसियत राख्छन् ।

तागाधारीको शरीरमा उनिने जनै समेत विदेशको भर पर्नुपरेको छ । त्यति मात्र कहाँ हो र ? आफ्नै देशमा आफ्नै जनताले बनाउने गरेको तामाङ भाषामा (छ्याङ) जाँड, रक्सी, र जाँड बनाउने औषधीलाई चाहिं नेपालीको निकम्मा सरकारले नष्ट गराउँछन् । तर त्यही (छ्याङ) उर्फ जाँड विदेशी पोकोमा विदेश बाटै छ्याङ नेपालमा आउँछन् विदेशी ब्राण्ड बनेर, धिक्कार छ हाम्रो देशको सरकार ।

असफल तीन तहको सरकारले देशमा कोरोना महामारीको नामले ब्रह्मलुट गरेर मुलुकको राजनीतिक अवस्था संकटपूर्ण र नाजुक अवस्थामा पुर्याएको छ । एकातिर नेतृत्व वर्गहरूले दक्षिणपन्थी शक्ति र भक्तिको इशारामा तल्लो तहका सरकार चलाइरहेको छ भने चेतनाको स्तर खस्केका लगभग मानसीक स्थिति खलबलिएका व्यक्तित्वहरु राजनीतिक नेतृत्वको टुप्पोमा बसेको हुँदा नेपालको राजनीति कहीं नभएको जात्रा हाँडीगाउँमा, हाँडिगाउँमा नभएको जात्रा हाम्रो गाउँमा जस्तै भएको छ ।

देश र नेपाली जनता भन्दा पनि गुटउपगुट बीचमा रुमलिएका, खिचातानीमा व्यस्त र आफ्नो दुनो कसरी सोझ्याउने, आफ्नो भागमा कसरी बढी पार्ने भन्नेमा नेतृत्व वर्गहरू लागिरहेका छन् । दूधको साक्षी बिरालो बसे झैं भ्रष्टाचार, कमिसनमा सबैको एकमत, खान नपाए पछि मत विभाजन गरेर देशलाई दुर्घटनामा पुर्‍याउनेलाई कारबाही कसले गर्ने ?

मुलुकमा जनप्रतिनिधिलाई तलब भत्ता प्रदान गरी राजनीतिलाई घोषित रूपमै आर्थिक पेसामा रूपान्तरण गरिनु दुःखद कुरा हो । स्पष्ट भाषामा भन्नु पर्दा सरकारका अंगहरू पुजीवादी दलाल, बिदेशी शक्ति, तस्कर, भुमाफिया र भ्रष्टहरूको चंगुलमा जकडिएको छ ।

जसको घरमा नुन किन्नको लागि खर्च छैन, त्यस्ता गरिब र निमुखाले कर्मचारी पाल्नकै लागि ऋण काढेर जन्म र मृत्यु दर्ता गर्नु परेको छ । मालपोत रकम तिर्नकै लागि घरजग्गा बिक्री गर्नुपर्ने अवस्था छ । भैंसी, सुँगुर, भेडा, बाख्रा, कुखुरा, परेवा यहांसम्म कि अण्डा देखि खोल्सो तर्दाको समेत जनताको थाप्लोमा कर थेग्न नसक्ने गरि लादिएको छ । आफ्नो दिऊँ त मै मरिजाऊँ, अर्काको पाए तीन माना खाऊँ भने झैं जनतालाई थिचेर, मिचेर, लुटेर, कुटेर, भुटेर आफ्नो तलब भत्ता, कमिसनको सेटिङ मिलाएको देख्दा रुने मन लागेर आउँछ ।

नेपाल सरकार नागरिकको सुरक्षामा पनि असफल मात्र होइन, निकम्मा समेत बनेको महसुस आम जनताले थोकुवाका साथ पत्तो पाईसकेको छ । नेपालमा जुन सरकार गठन पश्चात हत्या, बलात्कार, अपहरण, फिरौती जस्ता घटनाले झन् गति लिइरहेका छन् । बलात्कारलाई नियन्त्रण गर्न नसके पनि बलात्कारीलाई कारबाही गर्न समेत खुट्टा कमाइरहेको छ । भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्ने सरकारले सुन तस्करका ठूला माछा देखि एनसेएल, वाइडबडी, कोरोना किट, सत्तरी करोड काण्डलाई, प्रचण्ड–ओली - देउवाले छोप्न दिएनन् भनेर मन्त्री मण्डल भित्रैबाट आवाज उठाई रहँदा समेत सरकार मौन छ ।

हावाबाट बिजुली निकालेर उज्यालो नेपाल, घरघरमा पाइपबाट ग्याँस पुर्‍याउने, हातहातमा पाँच–पाँच हजार वृद्धभत्ता दिदै नमस्कार गर्ने र बृद्धहरुलाई सन्तानले पाल्न नपर्ने जस्ता भाषणमा खोक्न भ्याउने उखान टुक्के कमेडियन केपी, अझ बेरोजगार भत्ता, छुकछुक–छुकछुक हिँड्ने चुच्चे रेल चलाउने, पोखरामा पुगेसी बेनि नपुग्ने भन्ने हुन्छ ? बेनि पुग्नलाई कुस्मा हुनुपरेन ? कुस्मा मा त चुच्चे रेलको विशाल स्टेशन हुनेछ, पानीजहाज चलाउने, सबैखाले विभेद, अन्याय र अत्याचारको अन्त्य गर्ने जस्ता वर्तमान सत्तासीन दलका आश्वासन अहिले हात्ती आयो हात्ती आयो फुस्स चुट्किलामा रूपान्तरण भएका छन् ।

महँंगी, भ्रष्टाचार र करको मारले जनता आक्रान्त भएका छन । देशको कुनै यस्तो निकाय छैन, जहाँ प्रक्रियामा काम होस् । भएभरका युवा विदेश लखेटेर राष्ट्रिय उत्पादन विनाको आर्थिक समृद्धिको सुगा रटाइमा रमाइरहेको सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक बाकसमा आउने नागरिकको लासले मन छोएको छैन ।

दलाली, कमिसन र भष्टाचारमा जहाँ इच्छा त्यहाँ उपाय निकालेर सरकारले आफ्नो यात्रा लाटा देशमा गाँणा तन्‍नेरी झैं जारी रहने हो भने अब चार–पाँच वर्षमा समृद्ध नेता अर्थात् व्यापारी नेता भिखारी जनता हुने निश्चित छ । जनताको जीवन स्तर भनि झनझनै दयनीय र कष्टकर बन्दै जाने देखिन्छ ।

एउटा घरपरिवारको अभिभावक जिम्मेवार भएन भने अथवा आफ्नो परिवारका सदस्यहरूप्रति जवाफदेही र उत्तरदायी बन्न सकेन या चाहेन भने त्यो घरपरिवारको अवस्था कस्तो हुन्छ ? अहिले नेपाली जनताको अवस्था पनि त्यस्तै छ । व्यवस्था फेरिए पनि जनताको मुहार फेरिएको छैन । बदलामा नेताका मुहार फेरिए । झुप्रामा बाँदर गोठमा बसेका नेता आलिसान महलमा बस्न पुगे । जनताको दुर्दशा झन् बढ्यो । नेताको दृष्टि र कर्म आफ्नो सुखमा मात्र केन्द्रित भयो । नेपाली जनता हितमाचाहेको जस्तो जिम्मेवार नेता पाउन सकेनन् ।


लेखक :- जोहन चाम्लिङ
भोजपुर, नेपाल