नेपालको दोश्रो महिला गुल्मपति ईन्स्पेक्टर चन्द्रा गुरूङ - MONGOL KHABAR

Breaking

नेपालको दोश्रो महिला गुल्मपति ईन्स्पेक्टर चन्द्रा गुरूङ


पोखरा । भदौं १८ बिहिवार, प्रहरी निरीक्षक (ईन्स्पेक्टर) चन्द्रा गुरुङ नेपाल प्रहरीको दोश्रो महिला गुल्मपति हुन सफल भएकी छन् । प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासनविभाग, प्रशासन उपशाखाले ईन्स्पेक्टर गुरुङलाई सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति बनाएर काज सरुवा गरेपछि उनी नेपालकै दोश्रो गुल्मपति भएकी हुन् ।


नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) कुवेर कठायतले चन्द्रा गुरुङ नेपालको दोश्रो महिला गुल्मपति भएको बताए । यो उनको लागि चुनौति र अवसर दुबै हो,‘उनले अब आफूलाई प्रुभ गरेर देखाउनु पर्छ ।’

नेपाल प्रहरीको पहिलो महिला गुल्मपति भने पूर्णिमा चन्द हुन् । उनी नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिईन् । हाल उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) पदमा कार्यरत छन् ।

नेपालको दोश्रो महिला गुल्मपति भएकी चन्द्रा पहिलो पटक कार्यालय ईञ्चार्ज भएकी हुन् । यसअघि उनी कुनैपनि कार्यालयमा ईञ्चार्ज बनेकी थिइनन् । पहिलोपटक कार्यालय ईञ्चार्ज हुँदा उनले दोश्रो गुल्मपति बन्ने अवसर प्राप्त गरेकी हुन् । गुल्ममा ईन्स्पेक्टरको नेतृत्वमा ११० जना प्रहरी रहने गर्दछ ।

गुल्ममा सशस्त्र हतियारसहितको तालिम दिनुका साथै अनुशासन पनि सिकाइने गरिन्छ । यो प्रहरीको आपतकालिन ब्याक फोर्स पनि भएकाले अनुशासन सँगै कमाण्ड कन्ट्रोल गर्ने, बल प्रयोग गर्दा कस्तो तरिका अप्नाउने लगायत बारे पनि प्रशिक्षण दिइन्छ ।

प्रहरी सहायक निरीक्षक (असई) बाट २०४९ सालमा नेपाल प्रहरीको जागिर शुरु गरेकी चन्द्रा वर्तमान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीकी ब्याच हुन् । यद्वपी आईजिपी थापाले ईन्स्पेक्टरबाट आफ्नो प्रहरी जिवन शुरु गरेका हुन् । उनी २०६७ सालमा ईन्स्पेक्टरमा बढुवा भएकी हुन् ।

ईन्स्पेक्टर चन्द्राले प्रहरी जीवनको झण्डै दुई दशक प्रहरीको महिला तथा बालबालिका सेलमा रहेर काम गरिन् । अधिकांश समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेलमा काम गरेर सबैको मन जितेकै कारण धेरैले जिप्रका कास्कीको महिला तथा बालबालिका सेल भनेकै चन्द्रा हो भन्ने ठान्छन् ।

त्यसैले उनी सरुवा भएर गुल्मपति भइसक्दा पनि महिला तथा बालबालिका सम्बन्धी समस्या आए आफूलाई फोन आउने गरेको गुल्मपति चन्द्राले बताइन् । त्यतिमात्र होइन कहिंकतै हुलदंगा होस वा आन्दोलन हुँदा त्यसमा समन्वय गर्ने र विवाद समाधानका लागि पनि उनैलाई एसपीले खटाउने गर्दथे । गुल्मपति चन्द्रा २०७२ सालमा मानव बेचबिखन विरुद्ध प्रभावकारी काम गरेको मूल्यांकनमा परेर महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित भएकी थिइन् ।

नेपालकै दोश्रो गुल्मपति हुन पाएकोमा गौरवान्वित महशुस गरेको ईन्स्पेक्टर गुरुङले बताइन् । उनले आफ्नो प्रहरी जीवनको झण्डै ३ दशकको अनुभव गुल्ममा सदूपयोग गर्ने योजना सुनाईन् । गुल्ममा महिला तथा बालबालिका सेलमा जस्तो जनसम्पर्क राख्ने त हुँदैन,‘उनले भनिन्, ‘तरपनि म मेरो अहिलेसम्मको अनुभव सबै गुल्ममा लगाउँछु र देशकै उत्कृष्ट गुल्म बनाउन हरसम्भव प्रयत्न गर्छु, उनले भनिन ।
नागरिक न्यूजबाट