पाल्पा माथागढी गाउँपालिकाको मरमरा मौरीको स्मार्ट कृषि गाउँ - MONGOL KHABAR

Breaking

पाल्पा माथागढी गाउँपालिकाको मरमरा मौरीको स्मार्ट कृषि गाउँ

टोपबहादुर कामु मगर

पाल्पा । भदौं २३ मंगलबार, कृषि ज्ञान केन्द्र पाल्पाले माथागढी गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।


परम्परागत तरिकाले मौरीपालन गर्दै आएका किसानको उत्साहलाई समेटेर पाल्पा माथागढी गाउँपालिका वडा नं. ४ को मरमरा, हर्नेटार, चौलानीगैरा, खापुक क्षेत्रमा मौरीको स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने ज्ञान केन्द्र पाल्पाले तयारी गरेको हो । 


माथागढी गाउँपालिका - ४ को मरमरा क्षेत्रमा ३ सयभन्दा धेरै काठे मौरीका घार रहेका छन् । स्थानीय बासिन्दाले बिगत देखी बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेका छन् ।


पाल्पाको मरमरामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले जैविक वनस्पतीको फुलमा आधारित मौरीपालनबाट उत्पादित महको महत्व बढी भएकाले व्यावसायिक मौरीपालन गर्न किसानलाई आग्रह गनुभयो ।


राज्य संघीय संरचनामा जानुको अर्थ समानुपातिक विकासको पद्धतिलाई अगाडि बढाउने र तीन तहका सरकार मिलेर ग्रामीण जनतालाई विकासको लाभ दिने नीति अन्तर्गत मरमरालाई छनौट गरिएको प्रदेशसभा सदस्य आचार्यले बताए ।


कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले कृषिबाट रोगजारी, आयआर्जन र उद्यमशीलता बिस्तार हुनुपर्ने अवधारणा सुरु भएको र स्मार्ट कृषि गाउँ कार्यक्रम त्यसकै लागि सञ्चालन हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले सम्पूर्ण निर्वाचन क्षेत्र र सबै गाउँपालिकामा प्रदेश गौरवको आयोजना स्मार्ट कृषि कार्यक्रम बिस्तार गर्न लागेको जानकारी दिनुभयो ।


प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको प्रदेश सरकारले उत्पादन दोब्बर बनाउने योजनासहित स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लागू हुन कम्तिमा एउटा समुदायका ५० घरधुरी हुनुपर्छ ।


किसानहरुको भेलाले सञ्चालक समिति गठन गरी आवश्यक कार्यक्रम माग गरेपछि यो कार्यक्रम लागू हुनेछ । पाल्पामा दोभानको झेङला, रम्भाको हुँगीमा तानसेनको अर्गली, रामपुरको हेक्लाङमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा रहेको छ ।