पत्रकारदेखि स्वास्थ्यकर्मी सम्मको नक्कली परिचयपत्र गिरोह पक्राउ, प्रती कार्डको ५०० रुपियाँ - MONGOL KHABAR

Breaking

पत्रकारदेखि स्वास्थ्यकर्मी सम्मको नक्कली परिचयपत्र गिरोह पक्राउ, प्रती कार्डको ५०० रुपियाँ

काठमाडौ । भदौं १३ मंगलबार, महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गर्यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो । 


प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् । 


ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए । 


पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले नवलपुर टुडेलाई जानकारी दिए । स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ,’ एसएसपी थापाले भने, ‘एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’


होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताए । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो । 


अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ । 

एसएसपी थापाले पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढेको दावी गरे । ‘पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको छ,’ एसएसपी थापाले भने ।


सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् । पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।