बुझौं मुलबासी, यस कारण दशै मान्दैनन् धनकुटाका आठपरिया राईहरु - MONGOL KHABAR

Breaking

बुझौं मुलबासी, यस कारण दशै मान्दैनन् धनकुटाका आठपरिया राईहरु

जगत ठाडा मगर

काठमाडौ । कार्तिक ३ सोमबार, नेपालमा रहेको अल्पसङ्ख्यक मुलबासी मंगोल जाति मध्ये आठपहरिया राई पनि एउटा मुलबासी जाति हो । धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा र भीरगाउँमा आठपहरिया मुलबासी राई जाति स्थायी रूपमा बसोबास गर्दै आएका छन् । यी मुलबासी जाति धनकुटा बाहेक अन्य जिल्लामा कतै बसोवास नभएको बताइन्छ ।

पूर्वी नेपालको धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा, सान्ताङ्ग, झुण्डुवा र भीरगाउँमा बसोबास रहेको मुलबासी आठपहरिया जातिहरू दशै मनाउँदैनन् । उनीहरू दशै आउना साथ जंगबहादुर राणाको समयमा मारिएका आठपरिया मुलबासी जातिका दुई शहीद रामलिहाङ र रिदामाको स्मरण गर्छन् ।

आठपरिया मुलबासी जातीका बुढापाकाका अनुसार दशैलाई उनीहरूले कालरात्रीको रूपमा स्मरण गर्ने गरेका छन् । किनभने, ती मुलबासी रामलिहाङ र रिदामालाई दशै नमनाएकै कारण झुन्ड्याएर मारिएको भन्ने यतार्थ इतिहास आठपहरिया मुलबासी समुदायमा छर्लङ छ । रामलिहाङ र रिदामा आठपहरिया पुजारी थिए । दुवैले
जंगबहादुर राणाको समयमा अनिवार्य रूपमा दशै मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि राणाहरूको आदेशमा झुन्ड्याएर मारिएको झुन्ड्वा गाउँका स्थानीय हर्कबहादुर राईले बताए ।

धनकुटाको चुलीवन नजिकै झुण्ड गाउँ छ । राणाकालमा राणाको आदेश नमान्ने मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकोले यो ठाउँको नाम पनि झुन्ड्वा गाउँ राखिएको हो भन्ने भनाइ छ । आठपरियाहरूले चुलीवनमै ती दुई शहीदहरूको स्मारक बनाएका छन् । धनकुटाको चुलीवनालाई मुलबासी सस्कृती शहीद रामलिहाङ्ग र रिदामा स्मृतिपार्क भनेर घोषणा गरि सकिएको छ ।

नेपालमा राज्य विस्तारको क्रममा शाह राजाहरू विभिन्न क्षेत्रमा प्रवेश गरे । पूर्वमा वसोवास गर्ने लिम्बू, राई तथा किराँतहरूले दशै नमान्दा गोरखा राजाबाट विभिन्न कारवाहीहरू हुने भएकोले दशै पर्व नेपालका मुलबासी जातिहरूलाई जबर्जस्ती मान्न लगाइएको र आठपहरिया जातिलाई पनि जबर्जस्ती मनाउन लगाइएको प्रमाण रहेको राजा राजेन्द्र विक्रम शाहको समयमा जारी एक रुक्काको फोटोकपी धनकुटा, ताङखुवा (हाल धरान) निवासी मुन्धुम तथा इतिहासविद भरत तुङघङसँग रहेको जानकारी रहेको छ ।

वि सं १८४३ मा रणबहादुर शाहले नेपालका मुलबासी मंगोललाई दशै अनिवार्य मान्नु भनेर लाल मोहर दिएका थिए । सोही लाल मोहोर अनुसार दशै नमान्नेहरूलाई शासकहरूबाट कारवाही गर्न सुरु गरियो । दशै सकिए पछि दशै माने की मानेन् भनेर फेरिवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले सुराकी पठाउँथे । गाउँगाउँ जोगीको भेषमा पुगेका गोरखनाथहरूले गरेको खबरीको आधारमा दशै नमान्ने मुलबासी मंगोलहरूलाई विभिन्न किसिमका कारवाहीहरू हुने गर्दथ्यो । पुर्खा देखि मान्दै आएको सस्कृतीलाई शाहहरुले मुलबासी मंगोलको चलिएको चाडलाई मासेर दमन गरी जबर्जस्ती दशै मनाउन लगाएको भन्दै आठपहरिया राईहरूले मात्र होइनन फलस्वरूप बिगत केही बर्ष देखि नेपालका मुलबासी मंगोलहरुले दशै मनाउँदैनन् । र दशै बहिष्कार गर्दै आएका छन ।

आठपहरियाहरूको चाडपर्व

सैले आठपहरिया राईहरूका मुख्य–मुख्य पर्वहरू ओमडाक, बैशाखी चाड, चामनुंगीवा भदौरे चाड र छोङ्ला राङमावा मङ्सिरे चाड हुन् । यस अवसरमा बाराहजी र मार्गको नाममा पूजापाठ, आराधना प्रार्थनाहरू संयुक्त रूपमा गरिन्छ । दुवैका नाममा सामूहिक रूपमा आठपहरिया राईहरू भक्ति गीत गाउँदै आराधना गर्ने र नाचकीर्तनहरू गर्दछन् । आठपहरिया राईहरूको महत्त्वपूर्ण चाडमध्ये ‘चामनुंगी’ भदौ महिनामा पर्दछ ।

चामनुंगीको अर्थ नयाँ वस्तु घरमा भित्र्याउनु हो । भाद्र महिनामा खेतबारीमा पाकेको मकै घर भित्र्याउनुपूर्व पितृलाई चढाउनु भन्ने मान्यता रहेको छ । पितृलाई मकै र धान चढाउने रीतलाई नै आठपहरिया भाषामा ‘चामनुंगी’ भनिन्छ । चामनुंगी चाडमा आ –आफ्नो घरभित्रको मूलदेवताहरूलाई पूजाआजा गर्ने चलन छ । पूजा गर्दा जाँड, रक्सी, फुल, लसुन, सुँगुरको मासु चढाइन्छ । त्यसबेला आफ्नो परिवारमा सुख–शान्ति मिलोस् भनेर पूजाआजा गर्ने चलन चलाइएको हो । चामनुंगी पर्व घरको मूलचुलोमा पूजाआजा गरिन्छ । यो चाडको बेलामा गाउँघरमा पीङहरू पनि खेलिन्छ ।

यस जातिको अर्को महत्त्वपूर्ण चाड ‘ओमडाक’ हो । यो बैशाख महिनाको बौद्ध जयन्तीको समयमा पर्दछ । ओमडाक चाडमा ‘पाङदाङ्वा’को पूजाआजा गरिन्छ । ओमडाक एक हप्तासम्म मानिन्छ । पहिलो दिनको बिहानीपख आठपहरिया राईहरू सबै नुवाईधुवाई धुले पूजा गर्छन् र खीर खान्छन् । पाङ्दाङ्वाको पूजा गर्दा चारै सुरुमा दियो कलश राखिन्छ । केराको पातमाथि जाँड–रक्सी, मासु, फूल अक्षता र अन्य परिकारको मिश्रणले पूजा गरिन्छ । चढाइएको सबै खानेकुरा सोही ठाउँमा बसेर प्रसादको रूपमा खाइन्छ । ओमडाकपछि बालीनाली सप्रन्छ भन्ने जनविश्वास छ । यो चाडको समयमा धनुषबाण हान्ने खेलको आर्कषण पनि हुन्छ ।

आठपहरिया मुलबासी मंगोल राईहरूको समूदायमा वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उतार्ने ‘वाडाङ्गी पर्व ’ पनि महत्त्वपूर्ण पर्व हो । वर्षभरिमा मृत्यू हुनेका परिवारमा सम्पूर्ण सदस्य तीन दिन हिडेर सुनसरीको वराह क्षेत्र स्थित कोकाहाखोलामा नुहाएर कपाल, दाह्री, खौरेर भगवान् बराहको दर्शन गरी वरखी फुकाउने चलन छ । यो चाडमा बुबाआमाको दुःख बोक्नेले कपाल काट्ने, ‘दसि’ सहित केश बगाउने र छोराछोरी मर्नेका बुवाआमा आएर छोराछोरीको नाममा दसि बगाउने प्रचलन छ । वरखी सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेपछि यो चाड सकिन्छ । यस अवसरमा भक्ति गाउने, ढोल, मारूनी, डल्लो नाच नाँच्ने गरिन्छ । साथै रागाँको मासु, कुभिण्डो र फिलुंगेको अचार लगायतका परिकारहरू खाने गरिन्छ ।